विराटनगर । कोशी प्रदेश सरकारले आगामी साउन महिनादेखि विक्रम संवत २०८५ सम्म ‘कोशी भ्रमण वर्ष’ मनाउने भएको छ। प्रदेशको आर्थिक समृद्धिका लागि ऊर्जा र खानीभन्दा पनि पर्यटन क्षेत्र सबैभन्दा महत्त्वपूर्ण आधार भएको भन्दै सरकारले पर्यटन विकासको बृहत् गुरुयोजना निर्माण प्रक्रिया अघि बढाएको छ।
विराटनगरमा आयोजित ‘प्रमुख पर्यटन गन्तव्य छनोट मापदण्ड निर्धारण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त कुरा बताउनुभएको हो।
यसअघि २०८२ लाई भ्रमण वर्ष मनाउँदा ८२ वटा गन्तव्य छनोट गरिएकोमा, यसपटक तीव्र विकासका लागि २० वटा महत्त्वपूर्ण गन्तव्यलाई मात्र प्राथमिकतामा राखिनेछ। ती छानिएका क्षेत्रहरूमा पूर्वाधारसहितका सम्पूर्ण आधुनिक सुविधाहरू उपलब्ध गराई उत्कृष्ट बनाउने लक्ष्य छ। उत्कृष्ट गन्तव्यहरूको प्रतिस्पर्धा राम्रो भएमा यस संख्यालाई २५ वटासम्म पुर्याउन सकिने मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो।
कार्यक्रममा पर्यटन गुरुयोजनामा समावेश गरिने विषयहरूलाई लिएर विभिन्न क्षेत्रका विज्ञहरूद्वारा ५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यपत्र प्रस्तुत गर्नेहरूमा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, सदस्य किशोर राई, वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्र सापकोटा, र पर्यटन विज्ञहरू सुमित बराल तथा डा. रोशन शेरचन रहनुभएको थियो।
