विराटनगर । नेपालगन्ज, भैरहवा, पर्सा, विराटनगर, कञ्चनपुर र बर्दिया लगायत मुलुकका विभिन्न क्षेत्रमा लोडसेडिङको आधिकारिक तालिका नभए पनि छिनछिनमा विद्युत जाने–आउने समस्याले किसानदेखि उद्योगी र सर्वसाधारणसम्म नराम्ररी मारमा परेका छन्।
पूर्वदेखि पश्चिम तराईका ग्रामीण तथा औद्योगिक क्षेत्रमा बिनासूचना झ्याप–झ्याप विद्युत काटिने र न्यून भोल्टेजको समस्या बढ्दा चर्को गर्मीमा नागरिकको जनजीवन कष्टकर बनेको छ। अत्यधिक गर्मीको समयमा पंखा, कुलर र एसी जस्ता उपकरणको भरमा दिनरात कटाउने सर्वसाधारण विद्युत सेवा अनियमित हुँदा पीडित बनेका छन् भने सहरी क्षेत्रमा बारम्बारको ट्रिपिङले विद्युतीय उपकरणको आयु घटिरहेको र इन्टरनेट तथा खानेपानी वितरण समेत प्रभावित भएको स्थानीयको गुनासो छ।
यस्तै सास्ती पश्चिम नेपालको बाँके र बर्दियामा पनि देखिएको छ, जहाँ अनियमित विद्युत आपूर्ति र लो भोल्टेजका कारण सर्वसाधारणसँगै उद्योग–व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रतिकूल असर परेको छ। नागरिक अगुवा र उपभोक्ता अधिकारकर्मीहरूका अनुसार आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारहरू रातभर बत्ती कुरेर बस्न बाध्य छन् भने बारम्बारको भोल्टेज उतारचढावले घरायसी सामान बिग्रिने जोखिम बढेको छ।
स्थानीय टोलीले विद्युत प्राधिकरणका नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रलाई भेटेर समस्या अवगत गराए पनि अवस्थामा परिवर्तन आएको छैन। यद्यपि केन्द्र प्रमुख मिश्रले जिल्लामा कुनै लोडसेडिङ नभएको दाबी गर्दै प्राविधिक समस्या र प्रणाली स्तरोन्नतिका कारण कहिलेकाहीँ सर्किट फेल हुने गरेको बताएका छन्। हालै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पनि यस क्षेत्रको विद्युत आपूर्तिबारे जानकारी लिँदै आगामी आर्थिक वर्षमा वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए, तर समस्या अझै जस्ताको तस्तै छ।
यता रुपन्देहीको भैरहवा र मर्चवार क्षेत्रका बासिन्दा पनि वर्षौंदेखि यही समस्या झेल्न बाध्य छन्। गर्मीमा विद्युतको उपयोग बढिरहेको बेला पूर्वसूचना बिना लाइन काटिँदा घरायसी उपकरण र उद्योगका मेसिनरी सामान बिग्रिन थालेका छन्। भैरहवा वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले लोडसेडिङ नभई गर्मीमा अत्यधिक खपतका कारण तार चुडिने र सिस्टममा समस्या आउने गरेको बताए पनि मर्चवारका बासिन्दाले गुणस्तरीय विद्युतको माग गर्दै प्राधिकरणमा ज्ञापनपत्र बुझाएका छन्।
विशेषगरी साँझ र बिहानको समयमा भोल्टेज अत्यन्त कम हुँदा मोटर, पम्पसेट र फ्रिज जस्ता उपकरण चलाउन कठिन भएको उनीहरूको भनाइ छ। यस्तै सास्ती वीरगन्ज क्षेत्रमा पनि देखिएको छ, जहाँ रातिको समयमा पटक–पटक विद्युत ट्रिप हुँदा मध्यम र निम्न आय भएका परिवारको निन्द्रा बिथोलिएको छ। प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले भने घर–घरमा एसी जडान गर्ने क्रम बढेकाले ट्रान्सफर्मरमा क्षमताभन्दा बढी भार परेर एमसीबी ट्रिप हुने गरेको स्पष्ट पारेका छन्।
यो समस्याबाट सुनसरी–मोरङ औद्योगिक करिडोर र कोशी प्रदेशका सर्वसाधारण पनि आजित भएका छन्। दैनिक १०–१२ पटकसम्म विद्युत ट्रिपिङ हुने र भोल्टेज फ्ल्क्चुएसन हुने गरेपछि उद्योग संगठन मोरङले ऊर्जा मन्त्री र प्राधिकरणका प्रबन्ध निर्देशकलाई पत्राचार गरिसकेको छ। उद्योगीहरूका अनुसार बारम्बारको अवरोधले उत्पादन प्रक्रिया अव्यवस्थित बन्नुका साथै कच्चा पदार्थ नष्ट हुने र जेनेरेटर चलाउनुपर्दा इन्धनको महँगो मूल्यका कारण उत्पादन लागत बढेर स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको छ।
कृषि क्षेत्रमा पनि यसको गम्भीर असर परेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका र बर्दियाको गुलरिया तथा बारबर्दिया क्षेत्रका किसानहरूले सिँचाइका लागि मोटर र बोरिङ जडान गरे पनि लो भोल्टेजका कारण पानी तान्न नसकेको गुनासो गरेका छन्। किसानहरू चर्को गर्मीमा दिउँसो लाइन काटिने भएपछि रातभर जागराम बसेर सिँचाइ गर्न बाध्य छन्।
विद्युत कार्यालयमा जानकारी माग्न खोज्दा फोन समेत नउठ्ने वा व्यस्त रहने समस्या रहेको स्थानीयको आरोप छ। प्राधिकरणका महेन्द्रनगर प्रमुख सन्तोष श्रेष्ठ र बर्दिया प्रमुख शेरबहादुर सुनारले वर्षेनी विद्युतको लोड बढ्दै गएको तर जीर्ण संरचनाका कारण ट्रान्सफर्मरले भार धान्न नसक्दा यस्तो समस्या आएको स्वीकार गरेका छन्।
