कराची । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको ‘के२ एयरवेज’ को बोइङ ७३७ कार्गो विमान अचानक बेपत्ता भएको छ।
बीबीसी उर्दु सेवाका अनुसार बेपत्ता भएको उक्त मालवाहक विमानमा चालक दलका पाँच जना सदस्य सवार थिए।
पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार मंगलबार पाकिस्तानी समयअनुसार राति ९:१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी आएको पहिलो सूचना प्राप्त भएको थियो। विमानमा प्राविधिक समस्या देखिएलगत्तै कराँची क्षेत्र नियन्त्रण केन्द्रले त्यसको विशेष निगरानी सुरु गरेको थियो।
निगरानीकै क्रममा राति ९:२१ बजे राडारमा उक्त विमान तीव्र गतिमा तल ओर्लिरहेको देखिएको थियो। सोही क्रममा विमानले अचानक आफ्नो दिशा समेत परिवर्तन गरेको नियन्त्रण केन्द्रले जनाएको छ। त्यसको केही मिनेटमै कराँचीबाट करिब १५५ समुद्री माइल पश्चिमको आकाशमा विमानको राडार र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद हुन पुग्यो।
सम्पर्कविहीन भएको विमान र त्यसमा सवार चालक दलका सदस्यहरूको खोजीका लागि पाकिस्तानी नौसेना, वायुसेना र अन्य सुरक्षा एजेन्सीहरू तीव्र रूपमा परिचालन गरिएका छन्।
खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पाकिस्तानी नौसेनाले आफ्नो युद्धपोत ‘पीएनएस जुल्फिकार’ लाई तत्काल घटनास्थलतर्फ रवाना गरेको छ।
यसका साथै, नौसेनाको एटीआर विमान तुर्बतबाट उडेर खोजी कार्यमा जुटेको छ भने पाकिस्तान राष्ट्रिय ढुवानी निगमको व्यावसायिक जहाज ‘लाहोर’ लाई समेत उद्धार क्षेत्रमा परिचालन गरिएको छ। विमानको अवस्थाबारे थप विवरण आउन बाँकी छ।


