काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले जनप्रतिनिधि तथा पदाधिकारीहरूले जनताको काममा बेवास्ता गरे कानुनअनुसार कारबाही गरिने बताएका छन्। आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री लम्सालले जनताको सेवा गर्न नसक्ने वा जिम्मेवारीबाट पन्छिने जोसुकै पदाधिकारीमाथि आवश्यक कारबाही हुने चेतावनी दिए। उनले भने, “यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी।”
उनले सबै जनप्रतिनिधि र पदाधिकारीले इमानदारपूर्वक जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै नागरिकलाई दुःख दिने, सेवा प्रवाहमा लापरबाही गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने व्यक्तिबारे सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरे।
उनका अनुसार, कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।
यसअघि पनि मन्त्री लम्सालले काम नगर्ने ठेकेदारहरूको “खुट्टा भाँच्ने” अभिव्यक्ति दिएका थिए, जसको व्यापक आलोचना भएको थियो। अहिले प्रदेशका मन्त्रीलाई समेत “थुन्छौं” भन्ने उनको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ।


