विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानको उत्पादन वृद्धि, आयआर्जन विस्तार र पशु स्वास्थ्य सुधारका विभिन्न कार्यक्रम घोषणा गरेको छ।
उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्दै कृषकलाई धान, गहुँ र मकैको गुणस्तरीय बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिइन्। माटो परीक्षणलाई प्रभावकारी बनाउन नमूना सङ्कलनसम्बन्धी तालिम सञ्चालन गरिनेछ भने माटो सुधारका लागि जिङ्क र कृषि चुन ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइनेछ।
महानगरले व्यवसायिक च्याउ खेती प्रवर्द्धनका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न असार १५ मा राष्ट्रिय धान दिवस मनाइने तथा कृषक समूह र सहकारीका सदस्यलाई अन्तरजिल्ला अवलोकन भ्रमणमा सहभागी गराइने कार्यक्रम पनि बजेटमा समेटिएको छ।
बेमौसमी तरकारी उत्पादन बढाउन टनेल प्लास्टिक र आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ। भूमिगत सिँचाइ विस्तारमा समेत जोड दिइने महानगरले जनाएको छ। यस्तै, बाली संरक्षणका लागि एकीकृत कीट व्यवस्थापन (आईपीएम) कार्यक्रम सञ्चालन गरी जैविक विषादी निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ। कृषकलाई ७५ प्रतिशत अनुदानमा स्प्रेयर मेसिन पनि वितरण गरिनेछ।
पशुपालन क्षेत्रतर्फ महानगरले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। विपन्न किसानका पशुपन्छीमा परजीवी नियन्त्रण तथा महामारीजन्य रोग रोकथामका लागि खोप कार्यक्रम सञ्चालन गरिनेछ।
व्यवसायिक पशुपन्छी फार्म र समूहलाई प्राथमिकता दिँदै घाँस खेती विस्तारमा जोड दिइनेछ। उपभोक्ताले स्वस्थकर माछा र मासु उपभोग गर्न पाउने वातावरण बनाउन बजार अनुगमनलाई प्रभावकारी बनाइने महानगरको योजना छ।
दूध उत्पादन र पशुको गुणस्तर सुधारका लागि कृत्रिम गर्भाधानमार्फत उन्नत नस्ल विकास कार्यक्रम सञ्चालन गरिनेछ। व्यवसायिक फार्म, समूह तथा सहकारीलाई गाईको आरामदायी बसोबासका लागि प्रोत्साहनस्वरूप ‘काउ म्याट’ वितरण गरिनेछ।
सडक तथा सामुदायिक कुकुरको व्यवस्थापनलाई निरन्तरता दिइनेछ भने छाडा चौपायाको व्यवस्थापनका लागि कान्जी हाउस निर्माण गरिने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।
महानगरले कृषि उत्पादन वृद्धि, पशुपालन व्यवसायको आधुनिकीकरण तथा किसानको आयस्तर उकास्ने लक्ष्यसहित यी कार्यक्रम ल्याएको जनाएको छ।


