विराटनगर । विराटनगर महानगरले बजेटमार्फत सुशासन तथा संस्थागत विकासमा जोड दिएको छ ।
बुधबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले लिने विभिन्न करमा सहुलियत तथा छुटको व्यवस्गा गरिएको घोषणा गरिन ।
महानगरले विभिन्न शीर्षकमा छुट घोषणा गरेको छ ।
जसअनुसार महिला उद्यमशीलता बढावा दिन र उद्यममा महिलाहरुलाई आकर्षित गर्न व्यवसाय दर्ता तथा नवीकरणमा २५ प्रतिशत विशेष छुटको सहुलियत दिने घोषणा गरेको छ । अपाङ्गता भएका नागरिकप्रति महानगरको प्रतिबद्धता जनाउन त्यस्ता व्यक्तिहरुले सञ्चालन गर्ने व्यवसायमा दर्ता र नवीकरणमा शत प्रतिशत कर छुट दिइनेछ, करमा सहुलियत. उद्यममा साथ एकल महिलाको बात्मनिर्भरतामा महानगरको हात भन्ने नारालाई सार्थकता दिन महिलाहरुद्वारा संचालित व्यवसायहरुमा व्यवसाय कर २५ प्रतिशत छुटको व्यवस्था गरिनेछ।
सीप र स्वाभिमान भन्ने नारासाथ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई व्यवसाय दर्ता र नवीकरणमा शत प्रतिशत छुट दिने भएको छ । हिंसाबाट मुक्ति कार्यक्रम मार्फत उधमशीलतामा शक्ति लैंगिक हिंसा पीडित महिलाहरूको विवरण गोप्य राखी व्यवसाय दर्ता र नवीकरणमा २५ प्रतिशत छुट दिइने उपप्रमुख कार्कीले घोषणा गरिन।
नयाँ सुरुवात गर्दा अन्य निकायमा दर्ता भएका तर विराटनगर महानगरपालिकामा दर्ता नभएका व्यवसाय दर्ता गर्दा विगत १ आर्थिक वर्ष र चालु आवको कर मात्र लिएर व्यवसाय दर्ता गरिने बजेटमा उल्लेख छ ।
आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख रुपैयाँ लक्ष्य राखिएकोमा ४४ करोड ८५ लाख रुपैयाँ मात्र संकलन भएको छ।
महानगरले करदाताको सम्मान कार्यक्रमलाइ अझ प्रभावकारी बनाउन नियमित रुपमा कर दाखिला गर्ने असल करदातालाई सम्मान गर्ने,व्यवसाय दर्ता तथा वार्षिक नवीकरण नगराई सञ्चालन भएका व्यवसायलाई सूक्ष्म अनुगमन गरी करको दायरामा ल्याउने कार्यलाई थप प्रभावकारी बनाई आन्तरिक आय वृद्धि गर्ने, करको दर होइन, करको दायरा विस्तार गर्ने, स्वयंसेवक परिचालन गरी सञ्चालन भैरहेको करदाता शिक्षा अभियानलाई निरन्तरता दिई विराटनगरमा सञ्चालन भएका सबै व्यवसायहरुको अभिलेख तयार गर्ने,
सबै प्रकारका करहरु नेपाल सरकारको सुत्र प्रणालीबाट संकलन गर्ने व्यवस्था मिलाउने नीति अघि सारेको छ ।
यसबाट महानगरको आन्तरिक आय बढाउन मद्धत पुग्ने महानगरले विश्वास लिएको छ ।यसैगरी हातहातमा प्रविधि. चुस्त कर पद्धति डिजिटल माध्यमबाट कर संकलन गर्ने, कर दायरामा नआएका सबै करदातालाई करको दायरामा ल्याउन बडातहमा व्यवसाय दर्ता र नवीकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ ।
उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ आय हुने अनुमान गरेको छ। यसमध्ये आन्तरिक आयबाट १ अर्ब २७ करोड २० लाख रुपैयाँ, विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ तथा बैंक मौज्दातबाट १४ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
यता चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ३ अर्ब ६८ करोड २८ लाख रुपैयाँ आय हुने प्रक्षेपण गरेको थियो। तर हालसम्म कुल २ अर्ब २६ करोड ६१ लाख रुपैयाँ मात्र आम्दानी भएको छ, जुन लक्ष्यको करिब ६२ प्रतिशत हो।
आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख रुपैयाँ लक्ष्य राखिएकोमा ४४ करोड ८५ लाख रुपैयाँ मात्र संकलन भएको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ३४ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएकामा ३१ करोड ४० लाख रुपैयाँ प्राप्त भएको छ।
पूँजीगत सशर्त अनुदान ८ करोड ३५ लाख रुपैयाँ बराबर नै प्राप्त भएको छ।
चालुतर्फको सशर्त अनुदान ७८ करोड ४१ लाख रुपैयाँ अनुमान गरिएकामा ७८ करोड १९ लाख रुपैयाँ प्राप्त भएको छ भने पूँजीगत सशर्त अनुदान ८ करोड ३५ लाख रुपैयाँ बराबर नै प्राप्त भएको छ। समपूरक अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ अनुमान गरिएकामा ५८ लाख रुपैयाँ मात्र प्राप्त भएको छ।
प्रदेश सरकारतर्फ समानीकरण अनुदान ३ करोड ६२ लाख रुपैयाँ पूर्ण रूपमा प्राप्त भए पनि चालुतर्फको सशर्त अनुदान १ करोड ४ लाख रुपैयाँ अनुमान गरिएकामा ६५ लाख रुपैयाँ मात्र प्राप्त भएको छ। यस्तै, पूँजीगत सशर्त अनुदान ५ करोड ८८ लाख रुपैयाँ अनुमान गरिएकामा २ करोड १४ लाख रुपैयाँ मात्र प्राप्त भएको छ।
राजस्व बाँडफाँटतर्फ पनि अधिकांश शीर्षकमा लक्ष्यअनुसार आम्दानी हुन सकेन। सवारी कर, मनोरञ्जन कर, विज्ञापन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर तथा मूल्य अभिवृद्धि करबाट अपेक्षाभन्दा कम राजस्व प्राप्त भएको छ। यद्यपि अन्तःशुल्कतर्फ भने अनुमानभन्दा बढी ५ करोड ६३ लाख रुपैयाँ संकलन भएको छ।
महानगरको बैंक मौज्दात १४ करोड रुपैयाँ अनुमान गरिएकोमा १४ करोड ९९ लाख रुपैयाँ रहेको छ। समग्रमा हेर्दा आन्तरिक आय र केही अनुदान शीर्षकमा उल्लेख्य कमी आएपछि महानगरको कुल आम्दानी लक्ष्यभन्दा निकै तल रहेको देखिएको छ।


