विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
बुधबार बसेको नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कुल आय ३ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ हुने अनुमान पेश गरिन्। यो आय संघीय तथा प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आम्दानी, विभिन्न अनुदान र बैंक मौज्दातबाट प्राप्त हुने बताइएको छ। तर खर्चतर्फ भने सशर्त अनुदानसहित कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। यस क्षेत्रमा मात्रै १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ। यसअन्तर्गत वडा स्तरीय योजना, बहुवर्षीय तथा गौरवका आयोजना, पुराना दायित्व भएका ठेक्का र नगरस्तरीय परियोजनाहरू समावेश छन्। सडक, शहरी विकास, विद्युत, फोहोरपानी प्रशोधन तथा मर्मत सम्भारका कार्यक्रम पनि समेटिएका छन्।
सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका कार्यक्रम र संघसंस्थालाई अनुदान यसअन्तर्गत समेटिएका छन्।
त्यसैगरी आर्थिक विकासका लागि ३ करोड २६ लाख ३७ हजार रुपैयाँ छुट्याइएको छ, जसमा कृषि, पशुपन्छी, सहकारी, उद्यमशीलता, रोजगारी र पर्यटन प्रवर्द्धनका कार्यक्रम समावेश छन्।
सुशासन तथा संस्थागत विकासका लागि २ करोड ३३ लाख १० हजार रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५६ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।
आय स्रोतमा संघीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख, प्रदेश सरकारबाट १४ करोड २६ लाख ७४ हजार, राजस्व बाँडफाँडबाट २८ करोड ६४ लाख १८ हजार, आन्तरिक आयबाट १ अर्ब २७ करोड २० लाख ५ हजार, संघसंस्थाबाट १ करोड १६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
उपप्रमुख कार्कीले बजेटले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेको बताउँदै “शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर” बनाउने लक्ष्यअनुसार नीति तथा कार्यक्रम अघि सारिएको जानकारी दिइन्।
मेयर नागेश कोइरालाको अध्यक्षतामा नगरसभा सम्पन्न भएको थियो।


