चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको चितवनको इतिहास स्मरण गराउँदै विगतका राजनीतिक संघर्ष र बलिदानीलाई नबिर्सन आग्रह गरे।
महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै थापाले राजनीतिक दलहरूले शासन सञ्चालनका क्रममा कमजोरी गरे पनि विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य निर्माण नगर्न रास्वपा नेता-कार्यकर्तालाई आग्रह गरे। उनले अहिले रास्वपाको बलियो आधार बनेको चितवनको भूमि लोकतान्त्रिक आन्दोलनका क्रममा ठूलो बलिदानको साक्षी रहेको उल्लेख गरे।
थापाले प्रतीकात्मक रूपमा महाधिवेशनस्थल नै नेपाली कांग्रेसका करिब ५० जना योद्धाको चिहान भएको स्मरण गराएका थिए। उनले उल्लेख गरेको घटना २०१७ सालपछि नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र संघर्षसँग जोडिएको चितवन हत्याकाण्ड हो।
त्यो घटनाका प्रमुख पात्र थिए- जगतप्रकाशजंग शाह।
जगतप्रकाशजंग शाह नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा थिए। उनी राजा रणबहादुर शाहका जेठा छोरा रणोद्योत शाहको वंशज थिए। २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसबाट धादिङका उम्मेदवार बनेका शाह गोर्खा परिषद्का भरत शमशेरसँग पराजित भएका थिए।
२०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेपछि कांग्रेसले सुरु गरेको सशस्त्र संघर्षमा शाह सक्रिय भए। उनी चितवन कब्जा गर्ने अभियानको नेतृत्व गर्दै त्यहाँ पुगेका थिए।
उनकै नेतृत्वमा चितवन केही समय कांग्रेस समर्थित विद्रोहीको नियन्त्रणमा आएको थियो। तर काठमाडौंँबाट परिचालित सरकारी सेनाले रणनीतिक रूपमा उनलाई पक्राउ गर्यो।
अन्य धेरै योद्धा मारिए पनि शाह राजपरिवारसँग नाता जोडिएका व्यक्ति भएकाले तत्काल हत्या गरिएन। उनलाई काठमाडौं ल्याएर दरबारमा उपस्थित गराइयो।
राजा महेन्द्रले शाहलाई आत्मसमर्पण गर्न आग्रह गरेको बताइन्छ। तर उनले आत्मसमर्पण गर्न अस्वीकार गरे।
त्यसपछि उनलाई पुनः चितवन फर्काइएको थियो। इतिहासकारहरूले उल्लेख गरेका विवरणअनुसार उनलाई अत्यन्त क्रूर ढंगले हत्या गरिएको थियो। उनको हातखुट्टा काटेर शरीरलाई खाल्डोमा पुरिएको र पछि शिर काटिएको उल्लेख पाइन्छ।
हत्या भएको प्रमाणका रूपमा उनको शिर दरबारमा ल्याइएको विवरण पनि इतिहासका केही स्रोतमा उल्लेख गरिएको छ।
यो घटनाबारे हृषिकेश शाहको पुस्तक ‘प्रारब्ध र पुरुषार्थ’ तथा इतिहासकार राजेश गौतमको ‘नेपाली कांग्रेसको इतिहास’ लगायतका कृतिमा चर्चा गरिएको छ।
जगतप्रकाशजंग शाहकी पत्नी रश्मि शाह नाट्यसम्राट बालकृष्ण समकी छोरी थिइन्। राजनीतिक संघर्षमा जानुअघि रश्मिले नै आफ्ना पति शाहको कम्मरमा खुकुरी बाँधेर युद्धमोर्चामा पठाएको उल्लेख पाइन्छ।
शाहको हत्यापछि रश्मिले गहिरो पीडासहित ‘रातो क्रान्ति’ को माग गर्दै र नेपाल फेरि दमनको बाटोमा नजाओस् भन्ने भाव व्यक्त गर्दै आत्महत्या गरेको विवरण इतिहासमा पाइन्छ।
त्यतिबेला रश्मि रेडियो नेपालमा कार्यरत थिइन्। २००७ सालपछि उनी रेडियो नेपालमा जोडिएकी थिइन् भने २०१७ सालको राजनीतिक परिवर्तनपछि उनले त्यहाँको जागिर छाडेकी थिइन्।
जगतप्रकाशजंग शाहको हत्यापछि सरकारी सेनाले चितवनसहित लमजुङ, तनहुँ, धादिङलगायतका जिल्लामा कांग्रेस समर्थित योद्धामाथि कारबाही चलाएको बताइन्छ। त्यसक्रममा धेरै नेता–कार्यकर्ता मारिएका थिए।
यस घटनामा सबैभन्दा ठूलो क्षति चितवनमै भएको थियो। यही इतिहासलाई गगन थापाले रास्वपा महाधिवेशनमा स्मरण गराउँदै चितवन केवल वर्तमान राजनीतिक शक्ति केन्द्र नभई लोकतान्त्रिक संघर्ष र बलिदानको भूमि पनि भएको सन्देश दिएका हुन्।
उनको भनाइको सार थियो– राजनीतिक परिवर्तनको यात्रामा भएका संघर्ष र बलिदानलाई बेवास्ता गरेर विगतलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन।


