विराटनगर । पूर्वी नेपालमा बंगालको खाडीबाट विकसित भएको बादल प्रवेश गरेसँगै केही क्षेत्रमा भारी वर्षा भएको छ भने पश्चिम नेपाल र तराईका अधिकांश भूभागमा अझै सुक्खा अवस्था कायम रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा फरक–फरक मौसमीय अवस्था रहनेछ।
मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा गएरातिदेखि वर्षा भइरहेको छ। विशेषगरी झापामा अत्यधिक वर्षा भएको छ। झापाको अनारमनी बिर्तामा पछिल्लो सात घण्टामा २३७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी दिएका छन्।
यता पश्चिमी तथा दक्षिणी भूभागमा भने तत्काल व्यापक वर्षाको सम्भावना नरहेको मौसमविद्हरू बताउँछन्। पोखरेलका अनुसार आगामी एक सातासम्म पूर्वी तराईबाहेक पश्चिम नेपाल र दक्षिणी क्षेत्रमा उल्लेख्य वर्षाको सम्भावना न्यून छ।
विभागले आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावाको लहर चल्न सक्ने जनाएको छ। वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशका हिमाली क्षेत्र तथा कोसी प्रदेशका तराई भूभागमा पनि बादल लाग्ने सम्भावना छ। अन्य अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ।
कोसी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा तथा वाग्मती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसबीच, अत्यधिक गर्मीको असर पनि कायम रहेको छ। विभागका अनुसार बिहीबार देशकै उच्च तापक्रम भैरहवामा ४१.४ डिग्री सेल्सियस र नेपालगन्जमा ४०.७ डिग्री सेल्सियस मापन गरिएको थियो।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार पूर्वी नेपालमा वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्न सक्छ। तर पश्चिम नेपालमा भने अझै घाम लाग्ने र सुक्खा मौसम रहने सम्भावना छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


