विराटनगर । कोशी प्रदेशको हिमाली जिल्ला संखुवासभामा पछिल्लो २४ घण्टामा अति भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभाको टाँसी गाउँ स्नो मापन केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्म २८० मिलिमिटर वर्षा मापन भएको हो।
मौसमविद् डेभिड ढकालका अनुसार देशभरका वर्षा मापन केन्द्रमध्ये पछिल्लो अवधिमा सबैभन्दा बढी वर्षा संखुवासभामा मापन भएको हो। मौसम विज्ञानको मापदण्डअनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई अति भारी वर्षा मानिन्छ।
वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार टाँसी गाउँ हिमाली क्षेत्रमा रहेको मापन केन्द्र हो। उनका अनुसार बुधबार बिहानसम्म त्यहाँ ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। पछिल्लो समय भने वर्षाको मात्रा केही घट्दै गएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार टाँसी गाउँ आसपास क्षेत्रमा केही दिनयता लगातार ठूलो वर्षा भइरहेको छ। तर, हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
यसैबीच, देशका अन्य विभिन्न स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा भएको छ। महाशाखाका अनुसार तनहुँको थाप्रेकमा १६३.२, स्याङ्जामा १२७.६, गोरखामा ९३ र तनहुँको श्याम्घामा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र र भिरालो जमिन आसपास बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
