विराटनगर । बालबालिकामा नैतिक शिक्षा, संस्कार र सकारात्मक सोचको विकास गर्ने उद्देश्यसहित मोरङमा बालसंस्कार केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ। उक्त अभियानलाई आर्थिक रूपमा सशक्त बनाउन ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद् नेपालसँगको सहकार्यमा ‘भजन क्लब्बिङ कन्सर्ट’ आयोजना गर्ने भएको छ।
मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले आगामी जेठ ३० गते शनिबार जैन भवनमा विशेष सांगीतिक तथा धार्मिक कार्यक्रम ‘भजन क्लब्बिङ कन्सर्ट’ आयोजना गरिने जानकारी दिएको हो। कार्यक्रमले सनातन धर्मको संरक्षण, संवर्द्धन र धार्मिक चेतना अभिवृद्धिमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ।
कार्यक्रम व्यवस्थापनका लागि कौशल अग्रवालको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ। समितिमा नितेश कुमार सचिव तथा रोहन साह कोषाध्यक्ष रहेका छन्।
सचिव नितेश कुमारका अनुसार कार्यक्रमबाट संकलन हुने रकम मोरङ जिल्लामा बालसंस्कार केन्द्र तथा ट्युसन सेन्टर सञ्चालनमा खर्च गरिनेछ। उनले युवापुस्तालाई लागुऔषध तथा अन्य दुर्व्यसनबाट टाढा राख्दै सभ्य र जिम्मेवार समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यस्तो अभियान अघि बढाइएको बताए।
कन्सर्टका लागि टिकट बिक्री, विज्ञापन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट आर्थिक सहयोग संकलन गरिने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रमबाट करिब १७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने सञ्चालन खर्च करिब १२ लाख रुपैयाँ रहनेछ।
कार्यक्रमबाट बचत हुने करिब ५ लाख रुपैयाँ बालसंस्कार केन्द्र सञ्चालनका लागि स्थापना गरिने कोषमा जम्मा गरिने अध्यक्ष कौशल अग्रवालले जानकारी दिए।
पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषद् नेपालका सल्लाहकार नवलप्रसाद उपाध्याय, अरविन्द ठाकुरसहित ह्यासट्याग इभेन्टका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
