काठमाडौं । विवादका कारण पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
व्यापारी दीपक भट्टसँगको व्यापारिक सम्बन्ध र बीमा कम्पनीमा गरिएको लगानीबारे प्रश्न उठेपछि गुरुङमाथि नैतिक दबाब बढेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।
गुरुङले भने आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। विवाद चर्किएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
उनीमाथि लागेको आरोपको छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
समितिलाई सार्वजनिक रूपमा उठेका आरोपहरूको अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो। प्रारम्भिक १५ दिनको समयसीमा पर्याप्त नभएपछि थप पाँच दिन म्याद थपिएको थियो।
छानबिन समितिले गुरुङसँग सम्बन्धित सेयर, आयस्रोत तथा सम्पत्तिको अध्ययनपछि उनीमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको थियो। ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल तथा अचल सम्पत्तिलाई वैध ठहर गर्दै सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा राज्य प्रणालीको अपूर्णतासँग जोडेर व्याख्या गरेको थियो।
समितिको प्रतिवेदनपछि सरकारको निर्णयअनुसार गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।
