काठमाडौं । इजरायलले सोमबार इरानका विभिन्न क्षेत्रमा पुनः हवाई आक्रमण गरेको जनाएको छ। इरानले आइतबार इजरायलमाथि मिसाइल प्रहार गरेपछि त्यसको जवाफस्वरूप आक्रमण गरिएको इजरायली पक्षको दाबी छ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जारी गरेको वक्तव्यमा पश्चिमी र मध्य इरानस्थित सैन्य अड्डाहरूलाई लक्षित गरी इजरायली वायुसेनाले आक्रमण गरेको उल्लेख गरिएको छ। यद्यपि आक्रमणबाट भएको क्षति वा प्रभावित स्थानबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
उता, इरानको सरकारी टेलिभिजनले राजधानी तेहरानसहित तबरीज र इस्फहानमा विस्फोटका आवाज सुनिएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमहरूले कराज आसपासका क्षेत्रमा पनि विस्फोट भएको उल्लेख गरेका छन्।
मिसाइल आक्रमणपछि तेहरानको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै उडानहरू अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको थियो। त्यसपछि दुवै पक्षबीच सैन्य गतिविधि थप तीव्र बनेको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले हालै जारी गरेको वक्तव्यमा सैन्य कारबाहीलाई ‘निरन्तर प्रतिकारको सुरुवात’ भन्दै इजरायलले थप आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएको छ। आईआरजीसीले क्षेत्रका अमेरिकी र इजरायली सैन्य अड्डाहरू पनि सम्भावित निशानामा पर्न सक्ने संकेत गरेको छ।
इरानको विदेश मन्त्रालयले अमेरिका र इजरायलले युद्धविरामसम्बन्धी प्रतिबद्धता पालना नगरेको आरोप लगाएको छ। अप्रिलमा लागू भएको युद्धविराम पटक–पटक उल्लङ्घन भएको भन्दै इरानले आफ्नो सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक कदम चाल्ने जनाएको छ।
यसैबीच, इजरायली आक्रमणपछि इरानमा सरकारको समर्थनमा प्रदर्शनहरू भएका छन्। प्रदर्शनकारीहरूले इरान र हिज्बुल्लाहका झण्डा बोकेर सरकारको पक्षमा नाराबाजी गरेका थिए।
इजरायल, इरान र अमेरिका संलग्न पछिल्ला सैन्य गतिविधिले मध्यपूर्वमा तनाव थप बढेको छ भने क्षेत्रीय सुरक्षा अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको चासो समेत बढ्दै गएको छ।
