विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले स्वच्छ वातावरण, हरियाली प्रकृति र जैविक विविधताको संरक्षण आजको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गरेका छन्। उनले वातावरणमैत्री व्यवहार अपनाएर प्रकृतिको संरक्षणमा योगदान दिन सबैलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले मानव सभ्यताको तीव्र विकाससँगै प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन बढ्दै गएको र त्यसले वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्याएको बताएका छन्। प्राकृतिक सम्पदाको संरक्षण गर्दै मानव जीवनलाई स्वस्थ र प्रकृतिमैत्री बनाउनुपर्ने आवश्यकता झन् बढ्दै गएको उनको भनाइ छ।
शुभकामना सन्देशमा उनले कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै हिमालमा हिउँ पग्लने दर बढेको, हिमनदीहरू खुम्चिँदै गएको तथा प्राकृतिक प्रकोपका जोखिम बढिरहेको बताएका छन्। वनजंगल र खोलानालामा परेको असर, तापक्रम वृद्धि तथा पारिस्थितिक प्रणालीमा देखिएको असन्तुलनप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले वृक्षारोपण, प्राकृतिक स्रोतको दिगो उपयोग, प्रदूषण नियन्त्रण र वातावरणमैत्री जीवनशैलीमार्फत भावी पुस्ताका लागि सुरक्षित तथा समुन्नत भविष्य निर्माण गर्न सकिने बताएका छन्।
सन्देशमा उनले जैविक विविधताको संरक्षण, प्राकृतिक स्रोतसाधनको दोहन नियन्त्रण तथा दिगो विकासका अवधारणालाई व्यवहारमा उतार्दै वातावरणीय सन्तुलन कायम गर्न सबै सरोकारवालाको सहकार्य र सहभागिताको आवश्यकता औँल्याएका छन्।

