विराटनगर। गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा देशविदेशमा रहेका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । उनले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संरक्षण र सामाजिक एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा कोशी प्रदेश बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानले सम्पन्न रहेको उल्लेख गर्दै यस्ता पर्व–संस्कृतिले हाम्रो संस्कृति र गौरवलाई समृद्ध बनाउने चर्चा गरेका छन्।
प्रदेश सरकारले स्थापना कालदेखि नै विभिन्न समुदायका पर्व तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।
उनले विविधतायुक्त समाजमा यस्ता पर्वहरूको माध्यमबाट आपसी सद्भाव र सहकार्य मजबुत भई समृद्धिको यात्रामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै आजै परेको कुलुङ जातिको चाक्चापुर पर्वको अवसरमा पनि मुख्यमन्त्रीले शुभकामना व्यक्त गरेका छन् ।
समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक धरोहर र सामाजिक एकताले प्रदेशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

