काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। दुर्घटनापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सुधारोन्मुख अवस्थामा रहेको जनाइएको छ।
दुर्घटनामा साम्पाङलाई सामान्य चोटपटक लागेको भए पनि उनी अहिले नियमित गतिविधिमा सक्रिय भइसकेका छन्। यसबारे जानकारी दिँदै श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले अध्यक्ष साम्पाङको स्वास्थ्य अवस्थाबारे चिन्ता लिनु नपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले साम्पाङ दुर्घटनामा परेको खबरले समर्थक तथा शुभेच्छुकहरूलाई चिन्तित बनाएको उल्लेख गर्दै उनको अवस्था स्थिर र सुधारोन्मुख रहेको जानकारी दिएका हुन्।
किरातीले लेखेका छन्, “हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा पर्नुभएको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर सामान्य चोटपटक मात्र लागेको र उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले उहाँ अहिले आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ।”
