काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीस्थित आफ्नो मुख्यालयमा गरेको भव्य स्वागत अहिले नेपाल–भारत राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।
पाँचदिने भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबार भाजपा मुख्यालय पुगेका थिए। ‘भाजपालाई जानौं’ अभियानअन्तर्गत भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत पुगेका उनलाई पार्टी मुख्यालयमा विशेष सम्मानका साथ स्वागत गरिएको थियो।
मुख्यालय प्रवेश गर्दा बाजागाजा, सांस्कृतिक प्रस्तुति तथा पुष्पवर्षासहित स्वागत गरिएको थियो। भाजपा मुख्यालयमा रातो कार्पेट बिछ्याएर गरिएको स्वागतलाई नेपाली राजनीतिक नेताहरूले यसअघि पाएका सम्मानभन्दा फरक र विशेष मानिएको छ।
स्वागतको राजनीतिक सन्देश
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायका अनुसार यो स्वागत केवल एक नेताप्रतिको सम्मान मात्र नभई भारतले नेपालप्रति आफ्नो सद्भाव र उदारता प्रदर्शन गर्न खोजेको संकेत हुन सक्छ।
उनले भारतले पछिल्लो समय नेपालसँगको सम्बन्धमा देखिएको दूरीलाई कूटनीतिक रूपमा कम गर्ने प्रयास गरिरहेको भन्दै, “हामी नेपालप्रति सकारात्मक छौं र प्रोटोकलभन्दा बाहिर गएर पनि सम्मान दिन सक्छौं” भन्ने सन्देश दिन खोजेको हुनसक्ने बताए।
उपाध्यायका अनुसार भारतले विशेषगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग सम्बन्धित केही घटनापछि उत्पन्न मनोवैज्ञानिक दूरीलाई समेत सम्बोधन गर्न खोजेको हुन सक्छ।
उच्चस्तरीय भेटघाटको श्रृंखला
भारत भ्रमणका क्रममा लामिछानेले भाजपा नेतृत्वसँग लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान, दलगत सहकार्य तथा नेपाल–भारत सम्बन्धका विषयमा छलफल गरेका छन्।
उनले भारतका गृहमन्त्री अमित शाहसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको बताइएको छ।
यी भेटवार्तामा नेपाल–भारत सम्बन्ध, साझा हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा राजनीतिक संवादका विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।
रास्वपाप्रतिको सम्मान कि नेपाली जनताप्रतिको?
भारतका लागि अर्का पूर्वराजदूत निलाम्बर आचार्य भने यो स्वागतलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताउँछन्।
उनका अनुसार रास्वपा परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै छोटो समयमा जनमत प्राप्त गरेर उदाएको नयाँ शक्ति भएकाले भारतले त्यसलाई गम्भीरतापूर्वक लिएको देखिन्छ।
“यो सम्मान केवल रवि लामिछाने व्यक्तिलाई नभई उनलाई विश्वास गर्ने नेपाली जनतालाई गरिएको सम्मानका रूपमा पनि बुझ्न सकिन्छ,” आचार्यले बताए।
उनले वर्तमान राजनीतिक परिस्थिति, रास्वपाको लोकप्रियता र सरकारमा रहेको भूमिकाका कारण यसपटकको स्वागत विशेष देखिएको उल्लेख गरे।
यसअघि पनि पुगेका थिए नेपाली नेताहरू
भाजपा मुख्यालय पुग्ने रवि लामिछाने पहिलो नेपाली नेता भने होइनन्।
२०७९ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा मुख्यालय पुगेका थिए। त्यस्तै २०७८ सालमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भाजपा मुख्यालय भ्रमण गरेका थिए।
तर प्रचण्ड वा देउवाले पाएको स्वागतको तुलनामा लामिछानेलाई गरिएको सम्मान बढी भव्य र विशेष देखिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
