Premier Cables

समाचार

चीनमाथि नेपालको २२१ रनको फराकिलो जित, कुशल भुर्तेलको विस्फोटक शतक

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै अलआउट भयो।

विज्ञापन

चीनका शेनजियान झेङले सर्वाधिक ३१ रन बनाए भने डु जियानहाओले १७ र कप्तान तियान सेनकुनले १३ रनको योगदान दिए। नेपालका कुशल मल्लले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट हात पार्दा नन्दन यादवले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो। यो नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको दोस्रो ठूलो स्कोर हो। यसअघि नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।

नेपालको इनिङ्समा कुशल भुर्तेल चम्किए। उनले ४३ बलमा १६ छक्का र पाँच चौकाको मद्दतमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले। यो उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो। साथै, उनी टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।

यही खेलमार्फत भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पनि पूरा गरेका छन्। यो उपलब्धि हासिल गर्ने उनी दोस्रो नेपाली खेलाडी हुन्। कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै टी–२० अन्तर्राष्ट्रियमा दुई हजारभन्दा बढी रन पूरा गरिसकेका छन्।

कुशल मल्लले अविजित ८५ रन बनाए भने रोहितकुमार पौडेल ६९ रनमा अविजित रहे। मल्लले ४७ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे भने पौडेलले २१ बलमा सात छक्का र पाँच चौका हिर्काए। आसिफ शेखले ११ रन जोडे।

भुर्तेल र मल्लबीच दोस्रो विकेटका लागि १७५ रनको साझेदारी भएको थियो। त्यसपछि मल्ल र पौडेलले तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गर्दै नेपालको स्कोर ३१३ रनसम्म पुर्‍याए।

चीनका मा कियानचेङ र डेङ जिन्कीले समान एक–एक विकेट लिए।

यस जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ। अब नेपालले बिहीबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka