






स्कटल्यान्ड । कप्तान रिची बेरिङटनको शतकमा स्कटल्यान्डले विश्वकप क्रिकेट लिग–२ मा आइतबार नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । बेरिङटनले १ सय २ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले डन्डीको फोर्टहिलमा निर्धारित ५० ओभर खेलि ६ विकेट गुमाई ३ सय २३ रन बनाएको हो ।
बेरिङटनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो छैटौं शतक बनाएपछि स्कटल्यान्डले नेपाललाई बलियो चुनौती तेर्स्याउन सफल भएको हो । आफुले सामना गरेको पहिलो बलमै एलबीडब्लु आउट हुनबाट जोगिएका बेरिङटनले १ सय १४ बलको इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरे । माइकल लिस्कसँग तेस्रो रन लिने प्रयासमा उनी रनआउट भएका थिए ।
करण केसीले ६ ओभर भित्र ओपनर जर्ज मुन्सीलाई शुन्य र ब्रान्डन म्याकमुलेनलाई ५ रनमा आउट गरि नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । त्यसपछि बेरिङटन र चार्ली टिएरले तेस्रो विकेटमा १ सय २७ बलमा ९४ रनको महत्वपूर्ण साझेदारी गरे । ओपनर टिएरले नेपालविरुद्ध लगातार दोस्रो अर्धशतक बनाए ।
यसै शृंखलामा नेपालविरुद्धको पहिलो खेलमा पनि ८० रन बनाएका टिएरले ६५ बल खेल्दै ६८ रन जोडे । उनले कुल ९ चौका प्रहार गरे । ललित राजवंशीले टिएरलाई बोल्ड गरी यो साझेदारी तोडेका थिए । पछिल्ला दुई खेलमा अर्धशतक बनाएका फिन्ले म्याकक्रिथ १७ रन बनाई दीपन्द्रसिंह ऐरीको बलमा उत्कृष्ट कट एन्ड बोल्ड भए । दीपेन्द्रले लगत्तै म्याथ्यु क्रसलाई १७ रनमा आउट गरि खेलमा नेपालको पकड बलियो बनाएका थिए ।
तर त्यसपछि बेरिङटनले लिस्कसँग छैटौं विकेटमा ९३ बलमा १ सय २५ रनको ठोस साझेदारी गरे । सन्दीप लामिछानेको बलमा सोमपाल कामीले लिस्क १४ रनमा छाडेको क्याच नेपाललाई निकै महङ्गो पर्यो । लिस्क ६२ बलमा ९६ रन बनाई अविजित रहे । उनले १२ चौका र ३ चौका प्रहार गरे ।
अन्तिम ओभरमा करणलाई लगातार तीन छक्का प्रहार गरेका मार्क वाट ९ बलमा २१ रन बनाई अविजित रहे । स्कटल्यान्डले अन्तिम ५ ओभरमा ६७ रन जोडेको थियो । ओपनिङ ५ ओभरको स्पेलमा २ मेडन राख्दै १९ रन खर्चेका करणले कुल ९ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए । सोमपालले ९ ओभरमा ७५ र सन्दीपले १० ओभरमा ६९ रन खर्चन पुगे । दीपेन्द्रले ७ ओभरमा ३७ रन खर्चेर २ र ललितले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
पहिलो २ खेल जितेको नेपाली टोलीमा कुनै परिवर्तन गरेको छैन । स्कटल्यान्डले म्याकेन्जी जोन्सलाई ‘डेब्यु’ गराइरहेको छ । उनले पछिल्लो वर्ष स्कटल्यान्डको यू १९ टोलीबाट खेल्दै आएका थिए । त्यस्तै चार्ली क्यासेल टोलीमा फिर्ता भएका छन् । गत वर्ष उनले डन्डीमै आफ्नो ‘डेब्यु’ मा ओमानविरुद्ध ५।४ ओभरमा २१ रन खर्चेर ७ विकेट लिएका थिए, जुन कुनै पनि खेलाडीको एकदिवसीय अन्तराष्ट्रिय ‘डेब्यु’ मा उत्कृष्ट बलिङ प्रदर्शन हो । जोन्स र क्योलले जास्पर डेभिडसन, ज्याक जार्भिसको स्थान लिएका छन् ।
फोर्टहिलमा नेपालको यो तेस्रो खेल हो । नेपालले सोमबार यस शृंखलाको आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वस्नीय विजय हात पारेको थियो । करण केसीले अविजित अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पुरा गर्दै एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्मकै सवै भन्दा ठुलो रन लक्ष्य पछ्याएको थियो ।
नेपालले बुधबार आफ्नो दोस्रो खेलमा आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो ।
१४ खेलमा नेपाल १० अंक जोडी सातौं स्थानमा छ । स्कटल्यान्डको १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ । अमेरिका २८, नेदरल्यान्ड्स २६ र ओमानको २४ अंकसहित शीर्ष ३ स्थानमा छ । आठ राष्ट्र सहभागि लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् । नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर यस लिग २ को यात्रा टुंग्याउने छ ।