विराटनगर । राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आन्दोलन सुरु हुनुअघि नै गरिएको तयारी र आयोजकहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
आयोगले तयार पारेको प्रतिवेदनअनुसार जेनजी अभियन्ता रक्षा बम, जस्मिन ओझालगायतको समूह र ‘हामी नेपाल’का सुधन गुरुङबीच आन्दोलनस्थलमै विवाद भएको खुलासा भएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ २३ गते बिहान करिब ९ बजे रक्षा बम र जस्मिन ओझालगायतको समूह माइतीघर पुगेपछि त्यहाँ सुधन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवक, तीनवटा एम्बुलेन्स तथा माइकिङको व्यवस्था गरेको देखिएको थियो।
त्यसपछि दुवै समूहबीच केही समय विवाद भएको र रक्षा बम समूहले गुरुङलाई प्रदर्शनबाट फर्किन आग्रह गरेको आयोगले जनाएको छ।
आयोगले शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका प्रदर्शनकारीहरू किन प्रहरीको ब्यारिकेड तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढे भन्ने प्रश्नसमेत उठाएको छ। प्रतिवेदनमा प्रदर्शन सुरु हुनुअघि नै प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयंसेवक र तीनवटा एम्बुलेन्सको व्यवस्था किन गरिएको हो भन्नेबारे आयोजकहरूले स्पष्ट जवाफ दिन नसकेको उल्लेख छ।
आयोगका अनुसार प्रहरीको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेपछि आन्दोलन उत्तेजित र हिंसात्मक बनेको देखिन्छ। सुरक्षाफौजका पदाधिकारीहरूको बयान उद्धृत गर्दै प्रतिवेदनमा ‘गलत तत्वको घुसपैठ’ भएको दाबीसमेत गरिएको छ।
तर, गलत तत्व घुसेको थाहा पाएपछि आयोजकहरूले त्यसलाई रोक्न के प्रयास गरे भन्ने विषयमा कुनै स्पष्ट जानकारी नभेटिएको आयोगको निष्कर्ष छ।
आयोगले यस्तो अवस्था योजनाबद्ध वा आकस्मिक जुनसुकै भए पनि प्रदर्शनका आयोजकहरू मुख्य रूपमा जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ।
प्रतिवेदनमा हिंसात्मक घटनाबाट भएको धनजनको क्षतिप्रति आयोजकहरूले समेत जवाफदेही हुनुपर्ने उल्लेख गर्दै सुरक्षा निकायले पनि परिस्थितिको सूक्ष्म विश्लेषण गरेर पूर्वतयारी गर्न नसकेको टिप्पणी गरिएको छ। Make news
