Premier Cables
Premier Steel

कोशी प्रदेश

भारतको जोगबनी र चीन सिमाना सडकले जोडियो, किमाथांका सडकबाट भोटखोला पुग्यो गाडी

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

संखुवासभा । जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्र हुँदै चीन सीमासँग जोडिएको किमाथांकासम्म सडक सञ्जाल विस्तार भएको छ।

उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएसँगै हिमाली बस्ती राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो।

बिज्ञापन

उत्तर-दक्षिण कोशी सडक योजनाका अनुसार खाँदबारी-किमाथांका १ सय ५७ किलोमिटर तथा खाँदबारी–जोगवनी २ सय किलोमिटर सडक निर्माण पूरा भएको छ। हाल खाँदबारीसम्म कालोपत्र सडक सञ्चालनमा रहेको छ भने खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ।

योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार नुमभन्दा माथिल्लो क्षेत्रमा कच्ची सडक निर्माण सम्पन्न भइसकेको छ। सडक निर्माणको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङदेखि घोंगप्पासम्म सडक निर्माण गरेको थियो। सेनाले गत वैशाख २८ गते उक्त सडक योजनालाई हस्तान्तरण गरेको हो।

प्रारम्भिक रूपमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिए पनि भूगोल र एलाइनमेन्ट परिवर्तनका कारण अन्तिम सर्वेक्षणपछि सडकको लम्बाइ १० दशमलव ८१ किलोमिटर कायम गरिएको थियो।

सडक हस्तान्तरण भएको तीन दिनपछि जेठ १ गते खाद्यान्न बोकेका तीन वटा ट्र्याक्टर पहिलो पटक किमाथांकासम्म पुगेका थिए। च्याम्ताङदेखि घोंगप्पासम्मको भीर पार गर्दै जिल्ला सदरमुकाम खाँदबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथांका गाउँ पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाड्छेदर भोटेका अनुसार पहिलो पटक गाउँसम्म ट्र्याक्टर पुगेपछि स्थानीयले चालक तथा सडक अभियानसँग सम्बन्धित टोलीलाई भव्य स्वागत गरेका थिए। वर्षौंदेखिको सडक सपना पूरा भएको भन्दै स्थानीयले खुसीयाली मनाएका छन्।

यद्यपि वरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो रहेको छ। उक्त क्षेत्रमा सडक स्तरोन्नतिको काम जारी रहेको योजना प्रमुख गुरुङले बताए। वर्षायाममा पहिरो र कठिन भूगोलका कारण सडक सञ्चालन चुनौतीपूर्ण बन्ने भए पनि सडकलाई थप सुरक्षित र स्तरीय बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष भोटेले सडक सञ्चालनसँगै भोटखोला क्षेत्रको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने विश्वास व्यक्त गरे। स्थानीय उत्पादनले बजार पाउने, दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुने तथा स्वास्थ्य र शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको उनले बताए।

चीन सीमासँग जोडिएको किमाथांकासम्म सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना खुलेको स्थानीयको विश्वास छ। दशकौँदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथांका अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएको भन्दै स्थानीयले विकासको अनुभूति गर्न थालेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka