विराटनगर । नेकपा (एमाले) महासचिव शंकर पोखरेल पनि अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका छन्।
शनिबार एमाले केन्द्रीय सचिवालय बैठकमा बोल्दै महासचिव पोखरेलले पनि ओलीलाई मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए। यथास्थितिमा अगाडि बढ्न नसकिने उनको भनाइ रहेको सचिवालय बैठकमा सहभागी एक पदाधिकारीले बताए।
महासचिव पोखरेलले पनि पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। ‘पार्टी पुर्गठनको आवाज ठूलो छ। अब पार्टी पुनर्गठन गरेर जानुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै ति पदाधिकारीले भने।
अन्य पदाधिकारीको जस्तो महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका छैनन्। मार्गप्रशस्त गर्नुपर्ने बताउँदै पोखरेलले भने, ‘यथास्थितिमा अघि बढ्न सकिँदैन।’
दुई दिनदेखि जारी एमाले सचिवालय बैठकमा शनिबार महासचिव र उपमहासचिवहरूले बोलेका थिए। बहुमत उपमहासचिवहरू पनि ओलीको विपक्षमै बोलेको जनाइएको छ।
यसअघि शुक्रबार उपाध्यक्षहरूले बोलेका थिए। पाँच जना उपाध्यक्षमध्ये चार जनाले ओलीको राजीनामा मागेका थिए।
एमाले सचिवालय बैठक आइतबार फेरि बस्ने भएको छ। आइतबारको बैठकमा सचिवहरूले बोल्नेछन्। त्यसपछि अध्यक्ष ओलीले बोल्ने कार्यतालिका छ।
सचिवालय बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसहित ११ वटा एजेन्डा रहेका छन्।
