विराटनगर । नेपाली कांग्रेस र एमालेबीच भएको सत्तासाझेदारी सम्बन्धी सहमति लागू भए सम्भवत यो बजेटपछि मुख्यमन्त्री हिक्मत कुमार कार्की पदमा हुने छैनन् ।
प्रदेशमा सबैभन्दा धेरै समय अर्थात तीन पटकसम्म मुख्यमन्त्री हुने अवसर उनैले प्राप्त गरे । कार्कीले आफ्नो नेतृत्वमा पटक पटक नीति तथा कार्यक्रम अनि प्रदेश सरकारको बजेट ल्याएका छन् । यस पटक पनि प्रदेश प्रमुखले नीति तथा कार्यक्रममा ती योजना प्रस्तुत गरेका छन् । कोसी सरकारको नीति तथा कार्य्रक्रम आज बिहीबार प्रदेश सभा बैठकमा प्रस्तुत भएको छ ।
नीति तथा कार्यक्रम र बजेटमा उनले ल्याएका केही यस्ता कार्यक्रम छन् जो घोषणा गरिन्छन् तर कार्यान्वयन भने हुँदैनन् । अर्थात उनको नेतृत्वको सरकारले यसअघि पनि घोषणा गरेका तर कार्यान्वयनमा जान नसेका यस्तै केही कार्यक्रमहरु आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा फेरि पनि समेटिएका छन् । यी कार्यक्रम पहिले पनि आएका थिए ।
हेरौं यो विवरण ।
१.विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न संघीय सरकारसँग समन्वय गरिने छ। कोशी प्रदेशबाट गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको भैरहवाबीच अन्तरप्रदेश हवाई उडान सुचारू गर्न संघीय सरकार र निजी क्षेत्रसँग समन्वय गरिने छ। कोशी प्रदेशभित्रको आन्तरिक उडान तथा पर्वतीय उडान सञ्चालनका लागि प्रोत्साहन गरिने छ।
२.‘धार्मिक परिपथ’ विकास गर्न चारधाम सर्किट (बराहक्षेत्र-पिण्डेश्वरी-दन्तकाली-विष्णुपादुका- रामधुनी), शिव सर्किट (जोगिदह-रौतमाई-बराहपोखरी-हलेसी महादेव), महाभारत सर्किटजस्ता धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरिने छ। प्राचीन हरिद्वारको रूपमा परिचित चतरा-बराहक्षेत्रको विकास तथा विस्तार गरी व्यवस्थित कुम्भक्षेत्र निर्माण गरिने छ।
३.पर्यटनलाई आर्थिक विकासको मेरूदण्डको रूपमा स्थापित गर्न कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरूयोजना तर्जुमा गरिने छ। विक्रम सम्वत् २०८३ साल श्रावणदेखि २०८५ साल असारसम्मलाई “कोशी प्रदेश भ्रमण वर्ष” मनाउन आन्तरिक, अन्तरप्रदेश तथा विदेशी पर्यटक लक्षित गतिविधि अभिवृद्धि गरिने छ।
४.संघीय सरकारको समन्वयमा तमोर-चिसाङ डाइभर्सन परियोजना कार्यान्वयन एवम् बहुउद्देश्यीय तमोर-लेउती सुरूङमार्ग, केचना-सगरमाथा द्रुतमार्ग र चतरा-चौरीखर्क (लुक्ला) रेलमार्गको सम्भाव्यता अध्ययन गरिने छ।
५.चिया तथा कफीको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तर कायम गरी निकासी प्रवर्धन गरिने छ। चिया परीक्षण प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याइनेछ। अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनको आयोजना गरिने छ।
६.स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका प्रमुख घाट (चतरा, मुक्तिघाट-इटहरी, सिंघिया घाट-विराटनगर र काँकरभिट्टा) मा उपयुक्त प्रविधिसहितको शवदाह गृह निर्माण गरिने छ।
७.खेलकुद क्षेत्रको विकासका लागि खेलकुद एकेडेमी स्थापना एवम् खेल मैदान लगायतका पूर्वाधार विकासमा सहकार्य गरिने छ। विराटनगर महानगरपालिका, बैजनाथपुरमा प्रदेश खेलकुद ग्रामको विकास गरिने छ। सो स्थानमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको रूपमा निर्माण गर्न समन्वय गरिने छ।
८.चलचित्र निर्माण, चलचित्र छायाङ्कन स्थल, फिल्म स्टुडियो, सिनेमा हल सञ्चालन, प्रदर्शन अनुमति र नियमनसम्बन्धी कानुनी व्यवस्था गरिने छ। कोशी प्रदेशमा छायाङ्कन र निर्माण हुने चलचित्रलाई प्रोत्साहन गरिने छ।
