काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
बीबीसीका अनुसार हालसम्म २४६ जना संदिग्ध संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भइसकेको छ । यद्यपि, डब्ल्यूएचओले यो अवस्था अझै महामारीस्तरको आपत्कालीन मापदण्डसम्म नपुगेको जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस ले संक्रमितको वास्तविक संख्या र संक्रमण फैलिएको क्षेत्रको दायरा अझै स्पष्ट नभएको बताएका छन् ।
संगठनका अनुसार हाल फैलिएको इबोला ‘बुन्डिबुग्यो भाइरस’ प्रजातिबाट भएको हो । यसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा औषधि उपलब्ध छैन ।
हालसम्म आठ वटा प्रयोगशालाबाट पुष्टि भएका संक्रमण फेला परेका छन् । संक्रमण इटुरी प्रान्तको राजधानी बुनिया तथा सुनखानी क्षेत्र मोंगवालु र र्वाम्पारासहितका स्वास्थ्य क्षेत्रमा फैलिएको बताइएको छ ।
डब्ल्यूएचओले संक्रमण कंगो बाहिर पनि फैलिन थालेको जनाएको छ । छिमेकी देश युगान्डा मा दुई जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मृत्यु भएका ५९ वर्षीय पुरुषमा परीक्षणपछि इबोला संक्रमण पुष्टि गरिएको थियो ।
कंगोसँग सीमा जोडिएका देशहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको भन्दै डब्ल्यूएचओले कंगो र युगान्डालाई निगरानी प्रणाली, सम्पर्क पहिचान तथा आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्न सुझाव दिएको छ ।
संक्रमित व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राख्नुपर्ने र कम्तीमा ४८ घण्टाको अन्तरालमा गरिएको दुई परीक्षण नेगेटिभ नआएसम्म उपचार जारी राख्नुपर्ने डब्ल्यूएचओको भनाइ छ ।
संगठनले प्रभावित क्षेत्र बाहिरका देशहरूलाई सिमाना बन्द नगर्न तथा यात्रा र व्यापारमा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । यस्ता कदम वैज्ञानिक आधारभन्दा बढी डरका कारण अपनाइने गरेको डब्ल्यूएचओले स्पष्ट पारेको छ ।
इबोला पहिलोपटक सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कंगो मा फेला परेको थियो । यो भाइरस चमेरोबाट मानिसमा सरेको विश्वास गरिन्छ । हालको प्रकोप कंगोमा देखिएको १७औँ इबोला प्रकोप हो ।
यो रोग संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क वा घाउ भएको छालामार्फत फैलिने गर्छ । यसले गम्भीर रक्तस्राव र अंग निकम्मा हुने जोखिम बढाउँछ ।
यसका प्रारम्भिक लक्षणमा ज्वरो, मांसपेशी दुख्ने, अत्यधिक थकान, टाउको तथा घाँटी दुख्ने समस्या देखिन्छ । पछि बान्ता, पखाला, छालामा डाबर तथा रक्तस्राव हुने लक्षण देखा पर्छन् ।
डब्ल्यूएचओका अनुसार इबोलाको हालसम्म कुनै प्रमाणित उपचार उपलब्ध छैन । यसको औसत मृत्युदर करिब ५० प्रतिशत रहेको छ ।
पछिल्लो ५० वर्षमा अफ्रिकी मुलुकहरूमा इबोलाका कारण करिब १५ हजार जनाको मृत्यु भइसकेको छ । कंगोमा सन् २०१८ देखि २०२० बीच फैलिएको प्रकोप सबैभन्दा घातक मानिन्छ, जसमा झन्डै २३ सय जनाको ज्यान गएको थियो । गत वर्ष पनि दुर्गम क्षेत्रमा फैलिएको अर्को प्रकोपमा ४५ जनाको मृत्यु भएको थियो ।
