काठमाडौँ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेका बेला उपसभामुख रुबी कुमारी ठाकुरले उक्त निर्णयको बचाउ गरेकी छन् ।
चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले सिफारिस कार्यक्षमता र योग्यताको मूल्यांकनका आधारमा गरिएको दाबी गरेकी छन् ।
ठाकुरले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि असन्तुष्टि रहँदै आएको उल्लेख गर्दै मुद्दा फैसला हुन अत्यधिक समय लाग्नु गम्भीर समस्या भएको बताइन् । “हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भन्ने गुनासो व्यापक छ । एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय हो,” उनले फेसबुकमा लेखेकी छन् ।
उनले न्यायाधीश नियुक्ति दलगत प्रभावभन्दा माथि उठेर हुनुपर्नेमा जोड दिँदै कार्यक्षमता र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताइन् । “जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ,” उनले उल्लेख गरेकी छन् ।
ठाकुरका अनुसार वर्तमान सिफारिस संविधान, कानुन र जनहितलाई केन्द्रमा राखेर गरिएको हो र यसमा अनावश्यक विवाद गर्न नहुने उनको धारणा छ ।
यद्यपि, सरकारको उक्त निर्णयप्रति विभिन्न राजनीतिक तथा सामाजिक वृत्तबाट आलोचना भइरहेको छ । विशेषगरी चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको भन्दै प्रश्न उठाइएको हो ।
यस विषयमा ठाकुर आबद्ध श्रम संस्कृति पार्टीभित्र पनि मतभेद देखिएको छ । पार्टी अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत उपसभामुख ठाकुरप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
