






विराटनगर । कोसी प्रदेशमा सीप विकास, उद्योग र रोजगारबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सीप उत्सव २०८२ कोशी प्रदेश स्किल आईकनको छनोट गर्दै सम्पन्न भएको छ ।
उद्योगको माग अनुसार दक्ष जनशक्ति उत्पादनका साथै रोजगारदाता र रोजगारी खोजीमा रहेका युवाबीच सम्वाद र समन्वयको प्रयास गरिएका उत्सवमा अटोमोवाईल्स, सूचना प्रविधि र होटल म्यानेजमेन्ट गरी ३ विद्यामा सीप प्रतिष्पर्धा गराईएको थियो । प्रतिष्पर्धामा मनमोहन स्मृति पोलिटेक्निक हातिमुडा मोरङका चन्द्रदेव यादव अटोमोवाईल विधामा, नर बहादुर कर्माचार्य वहुप्राविधिक विद्यालय सुनसरी ईटहरीका विवश कोईराला होटल म्यानेजमेन्ट विद्यामा र पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान दमक झापाकी सोनम नेम्वाङ सूचना प्रविधि विद्यामा विजेता भई कोशी प्रदेश स्किल आइकन हुन सफल भए । तीनैजना विजेतालाई संगठनका अध्यक्ष राकेश सुराना र ईन्स्योर हेल्भेटासका टिम लिडर रविन्द्र बहादुर सिंहले नगद र प्रमाण पत्र प्रदान गरे ।
उत्सवको पहिलो दिन पूर्व बाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा ६ सय भन्दा वढी युवालाई प्रत्यक्ष तालिमको अनुभव गराई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी सोही दिन उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा १२ सयभन्दा बढी विधार्थी तथा युवाहरुलाई विभिन्न सत्रहरूको माध्यमबाट प्रेरणा, वृति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।
समापन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्राविधिक जनशक्तिको परनिर्भरता कम गर्नका साथै स्वदेशमै दक्ष जनशक्ति उत्पादनको प्रचुर सम्भावना रहेको सन्देश प्रवाह गर्न सीप उत्सव सफल भएको बताए । उनले दक्ष जनशक्ति उत्पादनमा नीजि क्षेत्रको चासो र चिन्ता रहेको व्यक्त गर्दै संगठनको अग्रसरतामा भएको सीप उत्सवले दक्षता र अनुभव साटासाटको वातावरण तयार पारी प्रशिक्षार्थी, विद्यालय र उद्योग बीचको सहकार्यलाई थप प्रगाढ बनाएको धारणा व्यक्त गरे ।
ईन्स्योर हेल्भेटासका टिम लिडर रबिन्द्र वहादुर सिंहले प्राविधिक शिक्षा, सीप तालिम तथा डुअलभेट अप्रेन्टिसीप कार्यक्रमप्रति आकर्षण वढाई रोजगारीका अवसरहरू पहिचान र प्रवद्र्धन गर्न आगामी दिनमा इन्स्योर हेल्भेटासले अन्य प्रदेशहरुमा पनि सीप उत्सव आयोजना गरी केन्द्रिय स्तरमा अन्तिम प्रतिष्पर्धा गराई स्किल आईकन छनोट गर्ने बताए ।
संगठनका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीप उत्सव २०८२ युवाका लागि अवसर र सम्भावनाको साझा चौतारी भएको वताउदै दक्ष जनशक्ति उत्पादनमा सरकार, निजी क्षेत्र र तालिम प्रदायक संस्थाहरुबीच हातेमालोको आवश्यकता रहेको औँल्याए ।