लन्डन । बेलायतको राजधानी लन्डनमा शनिबार ‘प्यालेस्टाइन एक्सन’ समर्थकहरूले गरेको प्रदर्शनपछि प्रहरीले ५०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ।
ट्राफलगर स्क्वायरमा आयोजित सिट-इन प्रदर्शन प्रतिबन्धित समूहको समर्थनमा गरिएको भन्दै प्रहरीले व्यापक रूपमा नियन्त्रणमा लिएको हो।
लन्डन मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार मध्यरातसम्म १८ देखि ८७ वर्ष उमेर समूहका कुल ५२३ जनालाई हिरासतमा राखिएको छ। प्रदर्शनकारीहरूले उक्त समूहको समर्थनमा प्लेकार्ड बोकेर भेला भएका थिए, जसलाई बेलायती कानुनअनुसार आपराधिक गतिविधि मानिन्छ। पक्राउका क्रममा अन्य सहभागीहरूले जयजयकार गर्दै समर्थन जनाएका थिए।
‘प्यालेस्टाइन एक्सन’ लाई गत जुलाईमा आतंकवादी संगठनको सूचीमा राखिएको थियो। यससँग सम्बन्धित गतिविधि, समर्थन वा सदस्यता लिँदा १४ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। तर, लन्डनको उच्च अदालतले फेब्रुअरीमा यस प्रतिबन्धमाथि प्रश्न उठाउँदै अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने संकेत गरेको थियो र सरकारलाई उक्त निर्णयविरुद्ध अपिल गर्न अनुमति दिएको छ।
