विराटनगर । गर्मी मौसम सुरु भएसँगै तराईका सहरहरूमा लामखुट्टे (मच्छर) को प्रकोप ह्वात्तै बढ्न थालेको छ। विशेष गरी विराटनगर, जनकपुर र वीरगञ्ज जस्ता घना बस्ती भएका सहरहरूमा मच्छरको बिगबिगीले जनजीवन प्रभावित बन्न थालेको हो।
समस्या शुरु भएपछि स्थानीयले सबैभन्दा पहिले स्थानीय तहसँग “कहिले औषधि छर्किने?” भन्दै प्रश्न गर्न थाल्छन् । तर, तिनको नियन्त्रणमा प्रयोग गरिने विषादीको प्रभाव र जोखिमबारे भने पर्याप्त जानकारी नहुँदा यसले जनस्वास्थ्यमा प्रतिकूल असर गरिरहेको देखिन्छ । यसबारे सर्वसाधारण समेत जानकार छैनन् ।
मच्छर नियन्त्रणका लागि प्रायः प्रयोग हुने ‘मेलोथिन’ एक प्रकारको (अर्गानोफोस्फेट इन्सेक्टिसाइट) हो । यसले मच्छरको स्नायु प्रणालीमा असर पुर्याएर तिनीहरूलाई निष्क्रिय बनाउँछ। तर विज्ञहरूका अनुसार यसले सबै मच्छर मार्दैन । धेरैजसो त केही समयका लागि बेहोस मात्र हुन्छन् र फेरि सक्रिय हुने गर्छन्। अनुमानतः १०० मध्ये करिब २० प्रतिशत मात्र मर्ने र बाँकी बाँचेकाहरू पुनः प्रजनन गरेर संख्या बढाउने जोखिम रहन्छ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार मेलोथिनको प्रयोगले मच्छरभन्दा बढी असर मानिस र अन्य जीवजन्तुमा पर्न सक्छ। विशेष गरी बालबालिका, दीर्घरोगी र वृद्धहरू बढी जोखिममा पर्ने बताइन्छ। यसको सम्पर्कमा आउँदा आँखा पोल्ने,छाला जल्ने,टाउको दुख्ने,चक्कर लाग्ने,सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन्।
विराटनगर महानगरले मात्र बर्सेनि मच्छर नियन्त्रण गर्न १० लाख रुपैयाँ बजेट खर्च गर्ने गरेको छ ।
विश्व स्वास्थ्य संगठन ले मेलोथिनलाई पूर्ण रूपमा प्रतिबन्ध भने लगाएको छैन, तर अत्यन्त सावधानीका साथ, तोकिएको मात्रा र विधि अनुसार मात्र प्रयोग गर्न सुझाव दिएको छ। धेरै विकसित देशहरूले यसको प्रयोग घटाउँदै लगेका छन्, तर नेपाल, भारत र बंगलादेश जस्ता दक्षिण एशियाली देशहरूमा अझै व्यापक प्रयोग भइरहेको छ।
स्थानीय तहहरूले जनदबाबका कारण हरेक वर्ष लाखौँदेखि करोडौँ रुपैयाँसम्म बजेट छुट्याएर २-४ पटकसम्म विषादी छर्कने गरेका छन्। यद्यपि जनस्वास्थ्य अधिकारीहरू स्वयं यसको प्रयोगप्रति सकारात्मक छैनन्। उनीहरूका अनुसार जनदबाबकै कारण बाध्य भएर छर्कनु पर्ने अवस्था रहेको छ।
स्वास्थ्य महाशाखा विराटनगर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले औषधि छर्कदा स्वास्थ्यमा जोखिम पर्ने कुरा सर्वसाधारणलाई बताउने गरेको तर जनस्तरबाट धेरै दबाब हुने गर्दा महानगरले बर्सेनि बजेट विनियोजन गरेर छर्कनु परेको बाध्यता सुनाए । उनले भने,‘‘औषधिले सबै मच्छर मर्दैनन् बरु सरसफाइमा ध्यान दिने हो भने घटाउन सकिन्छ ।’’ विराटनगर महानगरले मात्र बर्सेनि मच्छर नियन्त्रण गर्न १० लाख रुपैयाँ बजेट खर्च गर्ने गरेको छ ।
मच्छरको बढ्दो संख्यासँगै डेंगु, मलेरिया र चिकनगुनिया जस्ता रोगको जोखिम पनि बढ्ने गर्छ। पछिल्ला वर्षहरूमा नेपालका विभिन्न सहरहरूमा डेंगु संक्रमणले महामारीको रूप लिएको उदाहरणहरू छन्।
विज्ञहरू भन्छन्—मच्छर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय विषादी होइन, सरसफाइ हो। मच्छर फोहोर र जमेको पानीमा फस्टाउने भएकाले घर वरिपरि पानी जम्न नदिनु,फोहोर व्यवस्थापन गर्नु,ढल र नालाहरू सफा राख्नु,टायर, गमला, ड्रम जस्ता भाँडामा पानी जम्न नदिनु जस्ता उपाय अपनाउनु अत्यन्त आवश्यक छ।
मच्छर नियन्त्रणका नाममा करोडौँ खर्च गरिँदै आए पनि त्यसको दीर्घकालीन प्रभाव न्यून देखिएको छ। बरु, जनचेतनाको अभावका कारण स्वास्थ्यमा थप जोखिम बढ्ने अवस्था देखिएको छ। त्यसैले विषादीमा निर्भर हुने भन्दा पनि सरसफाइ र जनचेतनामै जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ।
“आफ्नो घर वरिपरि सरसफाइ गरौँ, पानी जम्न नदिऔँ-मच्छर आफैँ घट्छ।”
