फायल फोटो
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका हुन्।
सभापति शेरबहादुर देउवानीकट एक नेताले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी अनलाइनखबरलाई दिएका छन्।
निवर्तमान कार्यवाहक सभापति खड्कानिकट स्रोतले पनि बैठक आह्वान भएको पुष्टि गरेका छन्। स्रोतका अनुसार, धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक सञ्चालन हुनेछ।
१४ औँ महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यले पनि बैठकका लागि आफुलाई सूचना प्राप्त भएको बताएका छन्।
खड्काले तत्कालीन केन्द्रीय कार्यसमितिको बैठकपछि प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला पनि बोलाउने तयारी गरिरहेका छन्। उनीनिकट स्रोतले प्रदेश र जिल्लाका सभापतिहरूको भेला बोलाउने तयारी भइरहेको जानकारी दिएका छन्।
यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशन अस्वीकृत गरेका पार्टीका शीर्ष नेताहरूलाई ठमेलमा बोलाएर छलफल गरेका थिए।
छलफलपछि पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा जारी वक्तव्यमा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणलाई संवैधानिक, कानुनी र राजनीतिक दृष्टिले प्रतिवाद गर्ने बताएका थिए।
खड्काले आगामी राजनीतिक परिस्थितिको सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहन अपिल पनि गरेका छन्।
कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी भएपछि, कांग्रेसले खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा पनि छलफल गरेको थियो।
