विराटनगर । भदौ २३ गतेको घटनाबारे अनुसन्धान अघि बढाउने क्रममा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ, तर तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भने हाल पक्राउ नगरिएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शुक्रबार गरेको मन्त्रिपरिषद् निर्णयअनुसार खापुङलाई तुरुन्तै पक्राउ नगर्ने स्पष्ट गरिएको हो। सोही निर्णयका आधारमा प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओली र लेखकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि यी पक्राउ भएका हुन्। उक्त प्रतिवेदनले ओली, लेखक र खापुङ तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
यद्यपि आयोगले तीनै जनामाथि कारबाही सिफारिस गरे पनि मन्त्रिपरिषद्को निर्णयअनुसार अहिले दुई जनालाई मात्र पक्राउ गरिएको छ। सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले राजनीतिक नेतृत्व र सुरक्षा निकायका अधिकारीहरूलाई फरक ढंगले व्यवहार गर्ने नीति अपनाएको थियो।
निर्णयअनुसार सुरक्षा संयन्त्रका व्यक्तिहरूको हकमा छुट्टै अध्ययन समिति गठन गरी त्यसको सिफारिसका आधारमा कारबाही गर्ने र अन्य व्यक्तिहरूको हकमा जाँचबुझ आयोगको सिफारिसअनुसार अघि बढ्ने भनिएको छ।
नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी अबिनारायण काफ्लेले मन्त्रिपरिषद्को निर्णयअनुसार नै कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्। उनले कानुनी प्रक्रिया अनुसार प्रतिवेदन कार्यान्वयन गरिने र सुरक्षाकर्मीमाथिको कारबाही पनि निर्णयअनुसार नै हुने बताए।
