नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्। हाल रहेका २२ मन्त्रालयमध्ये उनले तीन मन्त्रालय आफैंसँग राखेका छन् भने चार मन्त्रीलाई दुई–दुई मन्त्रालयको जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नै जिम्मामा राखेका छन्। उनले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय तथा सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्।
त्यस्तै, प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गीता चौधरीलाई कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रालय तथा निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
अन्य मन्त्रीहरूलाई भने एक–एक मन्त्रालयको जिम्मेवारी तोकिएको छ। डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसैगरी, विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, खडक पौडेल (गनेस)लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र डा. विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला, दीपक साहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सीता बादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।
