काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ। दुई दिनदेखि ललितपुरस्थित एक पाँचतारे होटलमा तालिम कार्यक्रम चलिरहेको छ।
रास्वपा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। समानुपातिक ५७ सिटमा खस–आर्य १७, आदिवासी जनजाति १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम ३ जना परेका छन्। यसमध्ये ४८ महिला र ९ पुरुष सांसद छन्।
निर्वाचन आयोगले समानुपातिक सूचीको अन्तिम निर्णय प्रकाशन गर्न लाग्दा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह (बालेन) राजनीतिक र विज्ञ टोलीसँग निरन्तर भेटघाटमा व्यस्त रहेका छन्। कार्यव्यस्तताको कारण उनी अभिमुखिकरण तालिममा सहभागी हुन सकेका छैनन्।
बालेनले प्रधानमन्त्री भएपछि देशलाई कुन गति र दिशा दिन सकिन्छ भन्ने विषयमा विज्ञ टोलीसँग लगातार संवाद गरिरहेका छन्। उनले पार्टी सभापति रवि लामिछानेसँग बुढानीलकण्ठस्थित निवासमा भेटेर पार्टीले प्राप्त जनादेशलाई अघि बढाउने योजना बारे छलफल गरेका छन्।
स्रोतका अनुसार, बालेन र सभापति लामिछाने नेतृत्वमा पार्टीले क्याबिनेटको आकार, मन्त्री नियुक्ति र सरकारको रणनीति सम्बन्धी छलफल तीव्र रूपमा गर्दैछ। तर सभापति लामिछाने केही समयदेखि अदालतमा व्यस्त छन्। उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
बालेन प्रधानमन्त्री बनेपछि अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले र गृहमन्त्रीमा डोलप्रसाद अर्यालको नाम चर्चामा छ, तर अन्तिम निर्णय अझै बाँकी छ। रास्वपाका नेताहरूका अनुसार बालेन प्रधानमन्त्री बनाउँदा कुनै विधान संशोधन आवश्यक छैन।
निर्वाचन आयोगले समानुपातिक सूची प्रकाशित गरेपछि सांसदहरूको सपथ हुनेछ र पार्टी भित्रको प्रक्रिया पूरा भएपछि बालेन नेतृत्वको सरकार गठन हुनेछ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार आयोगले अन्तिम नतिजा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्नेछ।
रास्वपाका एक नेताले बताए अनुसार, सबै प्रक्रिया पूरा भए चैत १०–१२ भित्र नयाँ सरकार गठन हुन सक्ने सम्भावना छ। यसैबीच, नयाँ सांसदहरुलाई तालिम कार्यक्रम जारी छ र सरकार गठनका लागि आयोग तथा पार्टी भित्र आवश्यक सबै प्रक्रिया पूरा गर्न बाँकी छ।
