काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले करिब दुई घण्टासम्म बन्द गरिएको आफ्नो हवाई मार्ग मंगलबार पुनः सञ्चालनमा ल्याएको छ । इरान र इजरायल सँगको जारी तनावबीच मिसाइल तथा ड्रोन आक्रमण बढेपछि सुरक्षा सतर्कताका रूपमा एयरस्पेस अस्थायी रूपमा बन्द गरिएको थियो ।
यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोनलाई अवरोध गरी नष्ट गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले सुरक्षा अवस्था र सञ्चालनको समग्र मूल्यांकनपछि सम्बन्धित निकायसँग समन्वय गर्दै एयरस्पेस पुनः खुला गरिएको जनाएको छ । बीबीसीका अनुसार प्राधिकरणले उड्डयन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै वास्तविक समयमै अवस्थाको निगरानी जारी राखेको छ ।
प्राधिकरणले करिब दुई घण्टाको पूर्ण बन्दलाई ‘द्रुत रूपमा बदलिँदै गएको क्षेत्रीय सुरक्षा अवस्थाबीच उडान, उडानकर्मी र देशको सुरक्षाका लागि अपनाइएको विशेष सावधानी’ भनेको छ ।
यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थल मा ड्रोन आक्रमण भएपछि उडान सेवा प्रभावित भएको थियो । इन्धन भण्डारण केन्द्रमा लागेको आगलागीपछि सोमबारदेखि सीमित उडान तालिका पुनः सुरु गरिएको थियो । उक्त घटनामा मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन् । यो सो विमानस्थलमा भएको चौथो ड्रोनसम्बन्धी घटना हो ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मार्ग परिवर्तन भइरहेका छन् ।
यसैबीच, ब्रिटिस एयरवेजले मध्यपूर्वतर्फका उडानमा गरिएको अस्थायी कटौतीको अवधि थपिएको जनाएको छ । यसबाट अबुधाबी, ओमान, बहराइन, दोहा, दुबई र तेलअविव जाने उडान प्रभावित भएका छन् ।
एयरलाइन्सका अनुसार अवस्थाको निरन्तर समीक्षा भइरहेकाे छ र प्रभावित यात्रुहरूलाई वैकल्पिक यात्रा व्यवस्था उपलब्ध गराइँदैछ । साथै, यात्रु सहयोगका लागि ओमानको मस्कटबाट आठवटा राहत उडान सञ्चालन गरिएको र सिंगापुर तथा बैंककतर्फ थप उडान व्यवस्था गरिएको जनाएको छ ।
