विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका व्यक्तिका परिवार सदस्यलाई उम्मेदवार बनाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै तरंग उत्पन्न भएको छ।
‘सुशासन’ र ‘नयाँ राजनीति’ को नारा अघि सारेको रास्वपाले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट नितिमा भण्डारी कार्कीलाई उम्मेदवार बनाएपछि राजनीतिक वृत्तमा बहस चर्किएको हो।
नितिमा भण्डारी कार्की ‘बाजेको सेकुवा’ रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीकी श्रीमती हुन्। चेतन भण्डारीको नाम २०७५ सालमा सार्वजनिक भएको चर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको थियो। उक्त प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी गरेको अभियोगमा भण्डारीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएको तथ्य सार्वजनिक भएको थियो। सुन गायब भएपछि भरिया शाक्यलाई यातना दिँदा हत्या भएको घटनाले देशव्यापी आक्रोश जन्माएको थियो। त्यसपछि सरकारले १५ वैशाख २०७५ मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो।
उपलब्ध विवरणअनुसार चेतन भण्डारीविरुद्ध मुद्दा दायर भएपछि उनी फरार रहेको भन्दै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिससमेत जारी गरिएको थियो। करिब दुई वर्षपछि उनी स्वयं अदालतमा उपस्थित भएका थिए। अदालतमा हाजिर भएपछि उनले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा पाएका थिए। अन्तिम फैसलाअनुसार उनी उक्त मुद्दामा सफाइ पाएको बताइए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीहरू भने विभिन्न निकायमा छानबिनकै क्रममा रहेको जनाइएको छ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलका अनुसार फरार प्रतिवादीको म्याद तामेली गर्न २० महिनाभन्दा बढी समय लागेको थियो। १८ जना फरार अभियुक्तको ठेगाना नखुलेपछि गोरखापत्रमा ३५ दिने सूचना प्रकाशित गरिएको थियो। अदालतले बाटोको म्यादसहित ६५ दिनभित्र उपस्थित नभए मुद्दाको प्रक्रिया अघि बढाउने जनाएको थियो। केही प्रतिवादीहरू अदालतमा हाजिर भई धरौटीमा छुटिसकेका छन्।
प्रहरी अनुसन्धानका क्रममा चेतन भण्डारी र ‘गोरे’ व्यावसायिक साझेदार रहेको खुलासा भएको थियो। सुन काण्ड सार्वजनिक भएपछि भण्डारी अमेरिका गएको र पछि नेपाल फर्केर अदालतमा हाजिर भएको विवरण सार्वजनिक अभिलेखमा उल्लेख छ।
यही पृष्ठभूमिमा उनकी श्रीमती नितिमा भण्डारी कार्कीलाई रास्वपाले उम्मेदवार बनाएको विषयले राजनीतिक तथा सामाजिक वृत्तमा प्रश्नहरू उठाएको छ। आलोचकहरूका अनुसार विगतमा विवादित प्रकरणसँग जोडिएको परिवार पृष्ठभूमि भएका व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको सुशासनसम्बन्धी दाबी कमजोर बन्न सक्छ।
रास्वपाले भने उम्मेदवारी व्यक्तिगत आधारमा दिइएको र कुनै व्यक्तिमाथि अदालतबाट दोषसिद्ध नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने अडान लिएको स्रोतहरू बताउँछन्। यद्यपि पार्टीभित्रै केही नेताहरूले यस निर्णयबारे असन्तुष्टि व्यक्त गरेको जनाइएको छ।
सर्लाही–१ मा उम्मेदवारी दर्तासँगै अब यो विषय चुनावी बहसको केन्द्र बन्ने संकेत देखिएको छ। ‘नयाँ राजनीति’को वाचा गर्दै उदाएको दलले विवादास्पद पृष्ठभूमिसँग जोडिएको परिवारलाई टिकट दिनु रणनीतिक कदम हो कि राजनीतिक जोखिम-यो मूल्यांकन मतदाताको हातमा रहनेछ।
