विराटनगर । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार चुनावी अभियानमा सक्रिय छन्। तर राष्ट्रिय बहसको केन्द्रमा परेको छ झापा जिल्ला को क्षेत्र नम्बर ५।
झापामा प्रतिनिधिसभाका लागि पाँच निर्वाचन क्षेत्र छन्। सबै क्षेत्र आ-आफ्नो हिसाबले महत्त्वपूर्ण र प्रतिस्पर्धात्मक छन्। तर, राजनीतिक बहस र मिडिया फोकस क्षेत्र नम्बर ५ मै सीमित देखिन्छ। यसको प्रमुख कारण हो पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली को उम्मेदवारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चर्चित नेता बालेन शाह को चुनौती।
क्षेत्र नम्बर ५ ओलीको गृहक्षेत्र हो। एमाले अध्यक्ष र पूर्वप्रधानमन्त्रीको उम्मेदवारी स्वाभाविक रूपमा राष्ट्रिय ध्यान आकर्षित गर्छ। त्यसमाथि ‘नयाँ राजनीतिक लहर’ को प्रतिनिधित्व गर्ने बालेन शाहको उम्मेदवारीले प्रतिस्पर्धालाई प्रतीकात्मक बनाइदिएको छ—पुरानो शक्तिकेन्द्र बनाम नयाँ वैकल्पिक राजनीति।
यस क्षेत्रमा नेकपा उम्मेदवार रञ्जित तामाङ, कांग्रेस उम्मेदवार मन्धरा चिमरिया, श्रम संस्कृति पार्टीका समिर तामाङ लगायतका उम्मेदवार पनि मैदानमा छन्। तर सार्वजनिक विमर्श “हेभीवेट बनाम नयाँ अनुहार” को कथानकमा सीमित हुँदा अन्य उम्मेदवार ओझेलमा परेका छन्।
अन्य चार क्षेत्र: कम चर्चा, तर कम प्रभावशाली होइनन्
क्षेत्र नम्बर ५ ले बजार तताइरहँदा झापाका अन्य चार क्षेत्रमा पनि राष्ट्रिय कदका नेताहरू प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर १
यो क्षेत्र नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको क्षेत्र हो, तर यस पटक उनी उम्मेदवार छैनन्। कांग्रेसबाट केशवराज पाण्डे, एमालेबाट रामचन्द्र उप्रेती, रास्वपाबाट पूर्वसांसद निशा डाँगी र नेकपाबाट इन्जिनियर अशेष घिमिरे उम्मेदवार छन्। दल र स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धी छन्, जसले बहुदलीय प्रतिस्पर्धाको झल्को दिन्छ।
क्षेत्र नम्बर २
यहाँ निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर आमनेसामने छन्। प्रत्यक्ष निर्वाचनमा राना पहिलो पटक होमिएकी हुन्। नेकपाबाट धर्मशीला चापागाईं, कांग्रेसबाट सरिता प्रसाईं र राप्रपाबाट अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) पनि प्रतिस्पर्धामा छन्। यो क्षेत्र संस्थागत अनुभव बनाम नयाँ परीक्षणको प्रतिस्पर्धा जस्तै देखिन्छ।
क्षेत्र नम्बर ३
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यहाँका हेभीवेट उम्मेदवार हुन्। यो कांग्रेस नेता कृष्णप्रसाद सिटौला को क्षेत्र भए पनि उनी यस पटक चुनावी मैदानमा छैनन्। एमालेबाट हरिबहादुर राजवंशी, कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेकपाबाट डिल्लीराम घिमिरे र रास्वपाबाट प्रकाश पाठक उम्मेदवार छन्।
क्षेत्र नम्बर ४
एमालेका लालप्रसाद (एलपी) सावाँ, रास्वपाका शम्भुप्रसाद ढकाल, कांग्रेसका देउमान थेबे, नेकपाका पुरुषोत्तम चुडाल र राप्रपाका भक्तिप्रसाद सिटौला प्रतिस्पर्धामा छन्। यहाँ पनि बहुदलीय प्रतिस्पर्धा कडा देखिन्छ, यद्यपि राष्ट्रिय चर्चा न्यून छ।
राजनीतिक विश्लेषक गिरिश भट्टराईका अनुसार झापा क्षेत्र नम्बर ५ ले अन्य १६४ क्षेत्रजस्तै एक जना सांसद मात्र निर्वाचित गर्छ। नेपालको संसदीय प्रणालीमा जनताले सिधै प्रधानमन्त्री चयन गर्दैनन्; सांसदहरू निर्वाचित भएपछि संसदीय दलको नेतृत्व र गठबन्धन समीकरणबाट प्रधानमन्त्री चयन हुन्छ।
नेपाल ‘पार्लियामेन्टरी डेमोक्रेसी’ अर्थात् वेस्टमिनिस्टर अभ्यासमा आधारित प्रणालीमा छ। त्यसैले कुनै एक क्षेत्रबाट जित्दैमा प्रधानमन्त्री बन्ने ग्यारेन्टी हुँदैन। तर, मिडिया र सामाजिक सञ्जालले झापा–५ लाई “प्रधानमन्त्री छानिने क्षेत्र” जस्तो प्रस्तुत गर्दा व्यक्तिकेन्द्रित राजनीति बलियो बन्ने र प्रणालीगत सोच कमजोर हुने जोखिम देखिन्छ।
कांग्रेस उम्मेदवार मन्धरा चिमरिया पौडेलले पनि मिडियाले ओली र बालेनलाई मात्र ‘हेभीवेट’ का रूपमा चित्रण गरेको गुनासो गरेकी छन्। उनका अनुसार जनताको घरदैलोमा निरन्तर काम गर्ने उम्मेदवारको मूल्यांकन मिडिया कभरेजले मात्र निर्धारण गर्नु लोकतान्त्रिक प्रतिस्पर्धाको मर्मसँग मेल खाँदैन।
