






विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘ढुकुर जोडी’ सम्मान कार्यक्रम अघि सारेको छ । नगरपालिकाले सूचना प्रकासन गरी यो कार्यक्रममा सहभागी हुन उत्कृष्ट दम्पतीलाई आह्वान गरेको छ ।
ढुकुरलाई प्रेमको प्रतीक पनि मान्ने गरिन्छ । यसैलाई आधार बनाएर नगरपालिकाले राम्रो प्रेम, पारिवारिक र आपसी समझदारी हुने दम्पतीलाई प्रोत्साहन गर्ने उद्देश्यसाथ कार्यक्रम अघि बढाएको जनाइको छ ।
सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकाका सबै वडाबाट एक एक उत्कृष्ट जोडीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गर्ने तयारी गरेको बताएका छन् ।
सुन्दरहरैँचामा १२ वटा वडाबाट उत्कृष्ट हुने ढुकुर जोडीको तस्बिर वडा कार्यालयमा एक वर्षसम्म राखिने गुरागाईंले बताए ।
ढुकुर जोडी छनोटका लागि नगरपालिकाले मापदण्ड बनाएको छ । यसमा पर्नेहरुले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
के के छन् मापदण्ड ?
१. कम्तीमा विवाह भएको १० वर्ष पुरा गरेको हुनु पर्ने ।
२. श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने ।
३. विवाह दर्ता गरेको हुनुपर्ने ।
४. स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५. छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६. नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७. विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८. निरन्तर रूपमा संयुक्त परिवारमा बुवा वा आमा र सासू वा ससुरासँग बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९. बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०. हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्श्री९मतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११. निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दा बढी नबसेको ।
१२. माथि उल्लेखित सर्तहरू पूरा हुने कागजात फारमसहित पेस गर्नुपर्ने ।