२०८२ जेठ ०८, बिहिबार
Premier Cables

बैंक तथा वित्त विराटनगर

थाेरैले नराम्रो गर्दा समग्र सहकारी आन्दोलन नै बदनाम भयो : मेयर कोइराला

Hamro Biratnagar Calendar बुधबार, जेठ ०७, २०८२  | 8:25 PM

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताएका छन् ।

बिज्ञापन

सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकका अन्य ठाउँमा मात्रै होइन विराटनगरमा पनि धेरै राम्रा सहकारी भएको बताए । सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुनेमा उनको जोड छ ।

बिज्ञापन

‘सहकारीको मर्म र भावनाअनुसार सञ्चालित थुप्रै सहकारीहरू छन् । उनीहरूले बचतकर्ता र ऋणी दुवैलाई सेवा प्रवाह गरिरहेका छन्,’ उनले भने, ‘तर केही सहकारीका कारण उनीहरू सबैको बदनाम भइरहेको छ ।’ मेयर कोइरालाले सहकारीहरूबीच असल कार्य गर्ने विषयमा प्रतिस्पर्धा हुनु आवश्यक रहेको औंल्याए । सहकारीहरूमा असल अभ्यास पनि भएको भन्दै कोइरालाले राम्रो काम गर्ने सहकारीबाट अन्य सहकारीले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरभित्रका सहकारीलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले सहकारीलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीलाई व्यवस्थित र पारदर्शी तथा जवाफदेही बनाउन बेला–बेला अनुगमन गर्ने गरेको सुनाए ।

गलत गर्ने सहकारीलाई कारबाहीसमेत गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा प्रदेश सहकारी रजिष्टार कार्यालयका हरिबहादुर खत्री, महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलालगायतले सहकारीको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

अन्तरक्रियापछि आयोजित नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी प्रशिक्षणसमेत आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरूलाई सीए सुरज तिम्सिनाले सहजीकरण गरे । सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार महानगरको क्षेत्राधिकारभित्र १७२ वटा सहकारी सञ्चालनमा रहेका छन् ।

त्यसमध्ये हालसम्म ६१ वटाको अनुगमन, १२५ वटा सहकारीले नियमित वित्तीय वितरण बुझाएको, ११० वटा सहकारीले शेयर सदस्यहरूको विवरण पठाएको राईले जानकारी दिइन । त्यस्तै ११७ वटा सहकारीले साधारणसभाको प्रतिवेदन बुझाएका छन् । व्यवस्थापन सूचना प्रणाली (कोकोमिस) मार्फत सहकारीको कारोबारलाई व्यवस्थित बनाउने भइरहेको उनले बताइन । कोकोमिसमा हरेक सहकारीले समष्टिगत प्रतिवेदन, मासिक प्रतिवेदन, साधारणसभाको विवरण, शेयर सदस्यको विवरण, निर्वाचन प्रतिवेदनलगायत समावेश गर्नुपर्दछ ।

तालिममा महानगरको क्षेत्राधिकारभित्र रहेका १७२ सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर