काठमाडौं। लिबियामा फेरि एकपटक राजनीतिक तनाव चरम सीमामा पुगेको छ। लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको गोली हानी हत्या भएको छ।
उनी उत्तर–पश्चिमी लिबियाको जिन्टान सहरस्थित आफ्नै निवासमा मारिएका हुन्।
५३ वर्षीय सैफ मंगलबार साँझ आफ्नो घरको बगैँचामा हिँडिरहेका बेला चार जना अज्ञात बन्दुकधारीले उनीमाथि गोली प्रहार गरेका थिए। लिबियाली अधिकारीहरू र पारिवारिक स्रोतहरूले घटनाको पुष्टि गरेका छन्।
यसअघि करिब १५ वर्षअघि सैफका पिता मुअम्मर गद्दाफीको पनि हिंसात्मक रूपमा हत्या गरिएको थियो।
सैफ अल–इस्लाम कुनै समय लिबियाको सत्ताको प्रमुख दाबेदारका रूपमा हेरिन्थे र आफ्ना पिताको शासनकालमा उनी सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्थे। उनको हत्याले लिबियामा विद्यमान अस्थिर सुरक्षा अवस्था र दीर्घकालीन राजनीतिक द्वन्द्वलाई पुनः अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ।
लिबियाली सञ्चारमाध्यमका अनुसार सैफ अल–इस्लामका वकिल खालिद अल–जायदी तथा उनका राजनीतिक प्रतिनिधिहरूले जिन्टान सहरमा उनको हत्या भएको पुष्टि गरेका छन्।
उनको राजनीतिक टोलीका अनुसार चार जना नकावधारी बन्दुकधारीहरू घरभित्र प्रवेश गरी सुरुमा सुरक्षा क्यामेराहरू निष्क्रिय पारेका थिए। त्यसपछि केही समयको झडपपछि उनीहरूले सैफ अल–इस्लाममाथि गोली प्रहार गरेका थिए।
लिबियाली अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छन्। आक्रमणकारीहरू संगठित ‘कमान्डो युनिट’ जस्तै देखिएको बताइए पनि हत्याको पछाडि कसको संलग्नता छ र यसको उद्देश्य के थियो भन्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
