काठमाडौँ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा संलग्नलाई कडा कारबाही र न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
स्वतन्त्र नागरिक समूह तथा विभिन्न नागरिकहरूले हातेमालो गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर न्यायको आवाज उठाएका थिए।
यसैबीच, बालिका गरिमा चौधरीमाथि भएको उक्त घटनालाई लिएर सरकार र पीडित परिवारबीच भने सहमति भइसकेको छ। गृह मन्त्रालयमा शनिबार साँझदेखि मध्यरातसम्म चलेको लामो छलफलपछि सरकार र पीडित पक्षबीच तीनबुँदे सहमति भएको हो।
गृह मन्त्रीसहितसम्बन्धी मन्त्रीहरू, सरकारी प्रतिनिधि तथा गरिमा चौधरीका अभिभावकहरूको सहभागितामा भएको उक्त सहमतिमा जघन्य आपराधिक घटनासम्बन्धी विद्यमान कानुनको कसुर र सजायको व्यवस्था पुनरावलोकन गर्न माग गरिएको छ।
यसका लागि कानुन तर्जुमाका सम्बन्धमा सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने सहमति भए पनि माइतीघरमा भने न्यायको पक्षमा प्रदर्शन जारी रहेको छ।
