नयाँदिल्ली । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएपछि उनकी पत्नी सुनेत्रा पवार उपमुख्यमन्त्री नियुक्त भएकी छन्।
शनिबार सुनेत्रा पवारले उपमुख्यमन्त्रीको शपथ लिँदै औपचारिक रूपमा पदभार ग्रहण गरेकी हुन्। यससँगै महाराष्ट्रले पहिलोपटक महिला उपमुख्यमन्त्री पाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हालै सम्पन्न विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० ले अजित पवार नेतृत्वको नेशनलिस्ट कांग्रेस पार्टी र एकनाथ शिन्दे नेतृत्वको शिवसेनासँग गठबन्धन गरेको थियो। गठबन्धनपछि भाजपाका देवेन्द्र फडणवीस मुख्यमन्त्री बनेका थिए भने एकनाथ शिन्दे र अजित पवार उपमुख्यमन्त्री नियुक्त भएका थिए।
अजित पवार माघ १४ गते आफ्नै गृहजिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार विमान बारामती अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा पवारसहित छ जनाको मृत्यु भएको थियो।
