मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेदवारी दर्ता गराउँदै सुजीत साह ।
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा २५ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार मोरङ निर्वाचन क्षेत्र नं. ५ मा छन्, जहाँ आठ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। निर्वाचन क्षेत्र नं. १ मा पाँच जना, क्षेत्र नं. २ मा चार जना, क्षेत्र नं. ३ मा दुई जना, क्षेत्र नं. ४ मा तीन जना र क्षेत्र नं. ६ मा तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टाछुट्टै चुनाव चिन्ह प्रदान गरेको छ। मोरङमा स्वतन्त्र उम्मेदवारले सारङ्गी, ठेकी, ट्रफी, दूरबिन, कैंची, क्यामेरा, झोला, आँप, कप र प्लेट, मुढा, आसकोट, त्रिभुज, स्टुल, भँगेरा, केराको काइँयो, जीप र मसीजस्ता चुनाव चिन्ह पाएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मोरङका सबै निर्वाचन क्षेत्रमा दल तथा स्वतन्त्र गरी कूल ११० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
क्षेत्रगत रूपमा हेर्दा मोरङ क्षेत्र नं. १ मा १७ जना, क्षेत्र नं. २ मा १७ जना, क्षेत्र नं. ३ मा १८ जना, क्षेत्र नं. ४ मा १९ जना, क्षेत्र नं. ५ मा २२ जना र क्षेत्र नं. ६ मा १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
