Premier Cables
Premier Steel

कोशी प्रदेश

खड्ग फागोले थाले चुनावी तयारी, क्षेत्र विकासलाई पहिलो प्राथमिकता

Calendar शनिबार, माघ १०, २०८२  | साँझ ४:१७ बजे

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले निर्वाचनको तयारी सुरु गरिसकेको बताएका छन् । उनले आफ्नो मुख्य ध्यान क्षेत्रको समग्र विकास, सुशासन र पारदर्शी कार्यशैलीमा रहने स्पष्ट पारेका छन् ।

पूर्व जनप्रतिनिधिको रूपमा काम गर्दा भोगेका अनुभवले आफ्नो सोच थप परिपक्व बनेको फागोको भनाइ छ । उनले कोरोना महामारीका कठिन समयमा उर्लाबारी नगरपालिकामा जनताको सेवामा खटिँदा अनेक चुनौती झेलेको स्मरण गरे । “लकडाउनको बेला लौरो टेक्दै घरघर पुग्यौं, ३३ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न, औषधि र पोषणयुक्त आहार वितरण गरियो,” उनले भने, “त्यो सबै मेरो जिम्मेवारी ठानेर गरेको हुँ।”

बिज्ञापन

कोरोना कालमा आफूविरुद्ध मुद्दा खेप्नुपरेको र त्यसले राजनीतिक रूपमा असर पारेको स्वीकार गर्दै फागोले तीन दर्जनजति मुद्दा लागे पनि तीन वर्ष जनताका लागि इमानदारीपूर्वक काम गरेको दाबी गरे । नगरपालिकाको संरचना निर्माण, वडागत विकास, जग्गा प्राप्ति, विश्व बैंकका कार्यक्रम कार्यान्वयन, इलाका प्रशासन कार्यालय स्थापना तथा ५४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण आफ्नो कार्यकालका उपलब्धि भएको उनले बताए ।

सदीक्षा बास्तोलासँग सम्बन्धित घटनाले केही नकारात्मक धारणा बनेको स्वीकार गर्दै फागोले निष्पक्ष छानबिनमा आफूले सहयोग गरेको र सत्य कुरा जनताले बुझिसकेको दाबी गरे । “बाहिर राम्रो देखिएर भित्र गलत हुनु हुँदैन, राजनीतिमा लोभ र लालचविरुद्ध म लडेको हुँ,” उनले भने ।

आगामी दिनमा प्रतिनिधिसभामा पुगेपछि कानुन निर्माण, विधि–विधान सुदृढीकरण तथा शिक्षा, स्वास्थ्य, आर्थिक विकास र भौतिक पूर्वाधारमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उम्मेदवारी पार्टीको निर्णयअनुसार आएको उल्लेख गर्दै फागोले पार्टी एकढिक्का भएर चुनावमा जाने बताए ।

“मात्र जित्ने कुरा मेरो होइन, सबैले जिताउने हो,” उनले भने, “मनमुटावले कार्यकर्ता विभाजित हुन्छन्, त्यसले नतिजा दिँदैन। त्यसैले सल्लाह र सहकार्यमा अघि बढ्छौं।”

चुनावी खर्चमा मितव्ययिता अपनाउने बताउँदै उनले यसपटक धेरै खर्च गर्ने योजना नरहेको जनाए । “राजनीतिमा ढाँट्न जान्दिन, कर र जिम्मेवारीका साथ काम गर्ने हो,” फागोले भने ।

नेपाली कांग्रेस रूपान्तरणको प्रक्रियाबाट नयाँ जोशसहित अघि बढेको दाबी गर्दै फागोले परिवर्तनले सकारात्मक चुनावी परिणाम ल्याउने विश्वास व्यक्त गरे । उनले जनताको समस्या समाधान गर्ने अठोटसहित राजनीतिमा सक्रिय रहेको भन्दै मतदाताको विश्वास जित्ने आशा व्यक्त गरे ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka