जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको आयोजनामा सोमबार आज जनकपुरधाममा विशाल सभा आयोजना हुँदै छ। सभा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित तिरहुतिया गाछीमा हुनेछ, जसको तयारी सकिएकाे छ ।
रास्वपाको र्यापिड एक्सन टिम (आरएटी) मधेश प्रदेश संयोजक अमभुप्रसाद साहका अनुसार सभाको तयारी पूरा भएको छ । उनका अनुसार मञ्च निर्माण भइरहेको छ भने सहभागीका लागि खुला स्थानको व्यवस्था गरिएको छ।
सभामा २५ देखि ३० हजारसम्म सहभागी हुने अनुमान गरिएको छ ।
सभामा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति स्वर्णिम वाग्ले, तोसिमा कार्कीलगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम समिति संयोजक तथा पार्टी प्रवक्ता मनिष झाको नेतृत्वमा रहेको टोली दुई दिनअघिदेखि नै जनकपुरधाममा रहेर तयारी गरेको थियो ।
सिरहाको कर्जनहा स्थित सहिद पार्क पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने र ११ बजे पुनः जनकपुरधाम फर्किने कार्यतालिका रहेको छ। त्यसपछि जनकपुरधाम उद्योग वाणिज्य संघमा ११ देखि १२ बजेसम्म नेता–कार्यकर्ता भेटघाटको कार्यक्रम तय गरिएको छ।



