Premier Cables
Premier Steel

कोशी प्रदेश

एक वर्षमै गायत्री मन्दिरमा दुई लाखभन्दा बढी भक्तजनको दर्शन

Calendar आइतबार, माघ ०४, २०८२  | साँझ ४:०६ बजे

झापा । पूर्बी नेपालको आस्थाको नयाँ केन्द्रका रूपमा स्थापित बिर्तामोडस्थित गायत्री माताको मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।

अर्जुनधारा जलेश्वर धामपछि पूर्वी नेपालमा सबैभन्दा धेरै श्रद्धालु आउने धार्मिक स्थलका रूपमा गायत्री मन्दिर स्थापित हुँदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा दैनिक पूजापाठ तथा नियमित धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएका छन्, जसमा उल्लेख्य संख्यामा श्रद्धालु सहभागी हुने गरेका छन् ।

बिज्ञापन

पूर्वी नेपालमै पहिलोपटक निर्माण भएको गायत्री माताको मन्दिर बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक अवस्थित छ । यसअघि पूर्वमा गायत्री माताको मन्दिर नरहेकाले यहाँ दर्शनार्थीको आकर्षण बढ्दै गएको समितिको भनाइ छ ।
गत वर्ष जेठ २२ गते गायत्री जयन्तीको अवसरमा मन्दिरले विशेष कार्यक्रम आयोजना गरेको थियो । विभिन्न संघ–संस्थाका प्रतिनिधि, धार्मिक अगुवा, बटुक, स्काउट तथा भक्तजनको सहभागितामा बिर्तामोड नगर परिक्रमा गरिएको ¥यालीपछि मन्दिर परिसरमा धार्मिक सभा आयोजना गरिएको थियो । अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न भएपछि गायत्री जयन्तीसमेत पहिलोपटक औपचारिक रूपमा मनाइएको हो ।

२०८० साल जेठ १७ गतेदेखि निर्माण सुरु भएको मन्दिर २०८१ साल माघ २१ गते विधिपूर्वक प्राण प्रतिष्ठा गरी सञ्चालनमा आएको थियो । पाँचदिने विशेष अनुष्ठानसहित गरिएको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। अनुष्ठानको उद्घाटन तत्कालीन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए भने जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन दिइएको थियो ।

वैदिक सनातन हिन्दू धर्ममा गायत्री मातालाई वेद माता तथा जननीका रूपमा मानिन्छ । माता पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रूपमा समेत गायत्री मातालाई स्वीकार गरिन्छ । ऋषि विश्वामित्रले तपस्याबाट प्राप्त गरेको गायत्री मन्त्र आज पनि विश्वभर जप गरिँदै आएको धार्मिक विश्वास छ । यही आस्थाका कारण मन्दिरमा दर्शन गर्ने भक्तजनको संख्या निरन्तर बढिरहेको व्यवस्थापन समितिले जनाएको छ।

मन्दिर निर्माणपछि संरक्षक, व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा नम्बर ५ का वडाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतलाई संरक्षक बनाइएको छ। विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ, जसमा सुजित अग्रवाल सहसंयोजक, मनोज बजाज सचिव र राजेश अग्रवाल कोषाध्यक्ष रहेका छन्।

त्यस्तै, धार्मिक, सामाजिक, व्यवसायिक तथा सञ्चार क्षेत्रका व्यक्तिहरू सम्मिलित ३१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

व्यवस्थित पूजा प्रणाली, नियमित अनुष्ठान र बढ्दो श्रद्धालुको सहभागितासँगै गायत्री माताको मन्दिर पूर्वी नेपालकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको विश्वास छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka