Premier Cables
Premier Steel

राष्ट्रिय

आज माघ १ अर्थात् माघे संक्रान्ति

Calendar बिहिबार, माघ ०१, २०८२  | बिहान ९:४२ बजे

विराटनगर । आज माघ १ अर्थात् माघे संक्रान्ति । यस्तै, आज राष्ट्रिय योग दिवस पनि रहेको छ । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् । आज नेपालमा विभिन्न नदीनाला, खोला तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।

बिज्ञापन

धार्मिक मान्यताअनुसार पनि माघ महिना विशेष हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भएलगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन पनि रही आएको छ ।

विविध जाति, समुदाय र सम्प्रदायको बाहुल्यता रहेको हाम्रो देशमा यो पर्व धेरैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला संक्रान्ति पर्वका रूपमा मनाउँछन् ।

तराईमा यसदिन खिचडी, तिल लगायतका परिकार बनाएर खाने गरिन्छ भने माघी थारूहरूको मौलिक संस्कृति पर्व रूपमा रहेको छ ।

यसैगरी, मगर जातिले यस पर्वलाई तीन दिनसम्म विशेष धुमधामका साथ मनाउँछन् । नेपालमा बसोबास गर्ने अधिकांश जाति समुदायको साझा पर्वको रूपमा रहेको छ माघे संक्रान्ति ।

माघे संक्रान्तिका दिन नेपाली प्रचलनअनुसार तरुल, पिँडालु, चाकु, घ्यू, तिलौरीलगायत खाने गरिन्छ । विशेष गरी तरुल पुस सकिने राति पकाएर माघे संक्रान्तिको बिहान खाने प्रचलन रहेको छ ।

जसले गर्दा ‘पुसमा पाके माघमा खाके’ पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पिँडालु, सखरखण्ड, चाकु, स्कुसका जराहरूको माग बढी हुने गरेको छ ।

विशेषगरी हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन माघ १ अर्थात् माघे संक्रान्ति रहन गएको छ । यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रूपमा मनाउँछन् । नेपालका अधिकांश समुदायको साझा चाडको रूपमा रहेको छ माघे संक्रान्ति ।

माघ १ मा राष्ट्रिय योग दिवस पनि मनाइँदै आइएको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले ०७२ सालदेखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको हो । यस दिनमा सरकारले राष्ट्रिय बिदा दिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka