विराटनगर । वातावरणमैत्री र स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पहलमा इकोरसोई इन्डक्सन चुल्हो वितरण कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रमअन्तर्गत रोटरी कम्युनिटी कोर(आरसीसी) तथा क्लबका सदस्यहरूको सहयोगमा छनोट गरिएका १०० परिवारलाई बुधबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच इन्डक्सन चुल्हो वितरण गरिएको हो। विशेष गरी दाउराको प्रयोग गरेर खाना पकाउँदै आएका परिवारहरूलाई प्राथमिकताका आधारमा छनोट गरिएको र यसले धुवाँजन्य प्रदूषण कम गर्न तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका लागि आवश्यक इन्डक्सन चुल्होको सम्पूर्ण खर्च रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यहोरेको हो भने चौधरी फाउन्डेसनले प्रत्येक इन्डक्सनसँगै इन्डक्सन सेफ प्रेसर कुकर थप सहयोग स्वरूप उपलब्ध गराएको जनाइएको छ। यसले लाभग्राही परिवारहरूलाई इन्डक्सन प्रयोग गर्न सहज बनाउनुका साथै सुरक्षित भाँडाको अभाव नहोस् भन्ने उद्देश्य पूरा गरेको छ।
यस परियोजनाको परिकल्पना तथा सुरुवात रोटरी क्लब अफ बिराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले गर्नुभएको हो। उहाँले दाउरामा निर्भर परिवारहरूलाई वैकल्पिक, सुरक्षित र स्वच्छ पकाउने प्रविधिमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो।
कार्यक्रम सफल बनाउन चौधरी फाउन्डेसनकी प्रमुख मरिना रञ्जितको महत्वपूर्ण सहयोग रहेको र उहाँको समर्थनबाट यो परियोजना सम्भव भएको क्लबले जनाएको छ।
रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले यस किसिमका वातावरण संरक्षण र समुदाय सशक्तीकरणका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

