काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा रहेका मन्त्रीहरूले कुनै पनि राजनीतिक दलप्रति झुकाव देखाउन नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार (पुस २५) ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले मन्त्रीहरू नागरिक सरकारको प्रतिनिधि भएकाले निष्पक्ष रहनुपर्नेमा जोड दिए ।
गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आन्तरिक मामिला मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
मन्त्री अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि सरकार पूर्ण रूपमा तयारीमा जुटिसकेको बताए । उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरे ।
उनले जेनजी आन्दोलन सुशासन स्थापनाका लागि भएको उल्लेख गर्दै सुशासन कायम गर्न सरकार दृढ संकल्पित रहेको बताए ।
निर्वाचन तोकिएको मितिमा नभए देशले गम्भीर संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै गृहमन्त्री अर्यालले सरकारको मनोबल बढाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
यसै अवसरमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यसपटकको निर्वाचनमा विगतका निर्वाचनजस्तो भय र त्रासको अवस्था नभए पनि अविश्वासको वातावरण भने कायमै रहेको टिप्पणी गरे ।
