काठमाडौं । विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै समन्वयमा जुटेका नेपाली कांग्रेसका ‘२५ भाइ’ले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका छन् ।
उनीहरूले महामन्त्रीद्वयलाई भेटेर हस्ताक्षरकर्ता र त्यसका पक्षमा रहनेहरूले मात्र विशेष महाधिवेशन गर्दा पार्टी विभाजनमा जाने भन्दै पार्टी जोगाउन आग्रह गरेका हुन् । त्यस्तो आग्रहको जवाफमा महामन्त्रीद्वयल कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको भेटमा सहभागीको भनाइ छ ।
आफूहरूले “तपाईंहरू पार्टीको भविष्य हो हो । सभापतिले म फेरि लड्दिनँ भनेपछि पनि धैर्य राखेनन् भन्दै हुनुहुन्छ” भनेर महामन्त्रीद्वयसँग कुरा राखेको भेटवार्तामा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले बताइन् । जवाफमा महामन्त्रीद्वयले “विशेष महाधिवेशन विधानको बाध्यात्मक व्यवस्था भएकाले मिति तोकेका हौँ । यसमा हामी सभापतिसँग भेट्छौँ र समन्वयमा मात्र अघि बढ्छौँ” भनेको भुसालको भनाइ छ ।
महामन्त्रीद्वयले नियमिति महाधिवेशनको प्रक्रियामा प्रवेश गर्न सकेको भए वैधानिक समस्या नआउने भन्दै नियमित महाधिवेशनको प्रक्रियामै प्रवेश गर्न नसकेपछि विशेष महाधिवेशन बाध्यता भएको बताएको भुसालले जानकारी दिइन् ।
