विराटनगर। सुनसरीको कोसी गाउँपालिका-१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न भएको तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति भएको छ। सुनसरीका प्प्ररहरी उपरीक्षक एसपी केशव कुमार थेवेका
अनुसार, पीडित पक्षसँगको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत र रोजगारीमा सहयोग गर्ने सहमति भएको छ।
सहमति अनुसार, घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिने छ। मृतक साह घरको एक्लो कमाउने व्यक्ति भएकाले उनका परिवारको आर्थिक अवस्थालाई ध्यानमा राख्दै, उनको श्रीमतीलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न प्रशासनले पहल गर्ने सहमति भएको छ। यसैगरी, मृतकका छोराले भविष्यमा सशस्त्र प्रहरी बलमा भर्ना हुन चाहेको खण्डमा, उनले आवश्यक योग्यता पुरा गरेमा कानुनी प्रक्रियाअनुसार आवश्यक सहजीकरण गरिने आश्वासन प्रशासनले दिएको छ। यी सहमतिहरूसँगै पीडित परिवारले शवको पोस्टमार्टम गर्न र शव प्रहरीलाई हस्तान्तरण गर्न मन्जुरी दिएका छन्।
बुधबार राति करिब १ बजे भारतबाट सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीले गोली चलाएर साहको मृत्यु भएको थियो। सशस्त्र प्रहरीले तस्करको समूहसँगको झडपमा गोली चलेको दाबी गरे पनि स्थानीयवासीहरूले निहत्था व्यक्तिमाथि गोली प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेका थिए। आक्रोशित भीडले लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) चारैतिरबाट घेरी ढुंगामुढा र आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रण बाहिर जान लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थानीय प्रशासनले संयमता अपनाउन र वार्तामा आउन आग्रह गरेपछि यो सहमति भएको हो, जसले लौकही क्षेत्रमा तनाव कम हुने अपेक्षा गरिएको छ। वार्ता सफल भएकोले स्थिति सामान्य बन्दै गएको र राजमार्ग खुलाइने थेवेले बताए ।
