Premier Cables
Premier Steel

सम्पादकीय

सम्पादकीय: मेलमिलापको सन्देश र कांग्रेसको हविगत

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष १६, २०८२  | बिहान ११:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

आठ वर्षको निर्वासन, मृत्युदण्डका मुद्दा र व्यक्तिगत जीवनमाथि मडारिएको घोर संकटका बीच पनि राष्ट्रका लागि स्वदेश फर्कने निर्णय लिनु बीपी कोइरालाको अद्वितीय राजनीतिक साहस थियो।

त्यही ऐतिहासिक कदमको सम्झनामा आज नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहँदा, विडम्बनापूर्ण रूपमा पार्टी स्वयं भने गहिरो गुटबन्दी, अविश्वास र ध्रुवीकरणमा फसेको छ।

बिज्ञापन

मेलमिलापको नीति केवल ऐतिहासिक स्मृति होइन, लोकतान्त्रिक अभ्यासको निरन्तर आवश्यकता हो। तर कांग्रेसभित्र पछिल्ला घटनाक्रमले देखाएको छ-बीपीको विचारलाई स्मरण गरिँदैछ, तर व्यवहारमा आत्मसात् गरिएको छैन।

जेनजी आन्दोलनपछि देखिएको आन्तरिक विद्रोह, नेतृत्व परिवर्तनको मागसहितको हस्ताक्षर अभियान, विशेष महाधिवेशनको बहस र नियमित महाधिवेशनको अनिश्चितताले पार्टीलाई निर्णायक मोडमा पुर्‍याएको छ।

सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र महामन्त्री गगन थापा-विश्वप्रकाश शर्मा नेतृत्वको इतर समूहबीचको टकराव अब केवल विचारको बहसमा सीमित छैन।

यसले संगठनात्मक काम ठप्प पारेको छ। वडा अधिवेशनसमेत प्रभावित हुनु पार्टीको आन्तरिक असहमतिले कति गहिरो असर पारेको छ भन्ने स्पष्ट संकेत हो। क्रियाशील सदस्यता नवीकरण जस्तो आधारभूत कामसमेत पूरा हुन नसक्नु नेतृत्वको असफलताकै द्योतक हो।

विशेष महाधिवेशन कि नियमित-यो बहसको मूल प्रश्न विधि होइन, नियत हो। समयमै महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन विधानसम्मत विकल्प हो भन्ने महामन्त्री थापा पक्षको तर्क अस्वाभाविक छैन।

तर विशेष महाधिवेशनले झन् विवाद जन्माउने सभापति देउवाको चिन्ता पनि पूर्णतः असान्दर्भिक होइन। समस्या विकल्पमा होइन, आपसी विश्वासको अभावमा छ।

यहीँ मेलमिलाप दिवसको सान्दर्भिकता झनै गहिरिन्छ। डा. शेखर कोइरालाले व्यक्त गरेको जस्तै, आज कांग्रेसलाई व्यक्तिगत महत्वाकांक्षा, गुटगत आग्रह र अप्रिय विवादभन्दा माथि उठ्न आवश्यक छ।

बीपीले राष्ट्रलाई पहिलो प्राथमिकतामा राखे; आजको नेतृत्वले पनि पार्टी र लोकतन्त्रलाई व्यक्तिगत जित-हारभन्दा माथि राख्न सक्नुपर्छ।

कांग्रेसको संकट केवल आन्तरिक विषय होइन। यो देशको लोकतान्त्रिक भविष्यसँग गाँसिएको प्रश्न हो। प्रमुख प्रतिपक्ष कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। त्यसैले कांग्रेसले आज बीपीको नाममा कार्यक्रम आयोजना गर्नु मात्र पर्याप्त छैन; बीपीको विचारलाई निर्णय र व्यवहारमा उतार्नैपर्छ।

मेलमिलापको सन्देश अरुलाई दिनुअघि कांग्रेसले आफैंसँग मेलमिलाप गर्न सक्नुपर्छ। समयमै, सहमतिमा आधारित र विश्वास पुनःस्थापित गर्ने महाधिवेशन-त्यही बाटोले मात्र कांग्रेसलाई निर्वाचन र लोकतान्त्रिक जिम्मेवारीतर्फ दृढताका साथ अघि बढाउन सक्छ।

बीपीको स्मरणको साँचो अर्थ पनि यही हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa